बिहिबार, मंसिर १० २०८३

बिहिबार, मंसिर १० २०८३

आगामी निर्वाचनबारे प्रधानमन्त्री र रास्वपा सभापतिबीच छलफल

बिहिबार, मंसिर १० २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ । आगामी निर्वाचनको तयारी, सरकारका कामकारबाही, संसद् अधिवेशन र पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा दुई नेताबीच छलफल भएको हो ।

सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । लामिछानेको सचिवालयका अनुसार दुई नेताबीच आत्मीय र सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए । साथै, सरकारका कामकारबाही, मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।

आगामी निर्वाचनको तयारीका विषयमा मुख्यरुपमा दुई नेताबीच कुराकानी भएको बताइएको छ । निर्वाचन आयोगले आगामी निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरूसँग छलफल अघि बढाइरहेका बेला प्रधानमन्त्री र सत्तारूढ दलका सभापतिबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

निर्वाचन आयोगले मङ्सिर ४ गते राजनीतिक दलहरूसँग निर्वाचनसम्बन्धी विषयमा छलफल गरेको थियो । विशेषगरी स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा फरक–फरक समयमा गर्ने भन्ने विषयमा दलहरूबीच सहमति जुट्न सकेको छैन । यही कारण आयोगले निर्वाचनको मिति तथा प्रक्रियाबारे सरकारलाई औपचारिक सिफारिस गरिसकेको छैन ।

आगामी निर्वाचनको तयारी, निर्वाचनको समयतालिका र राजनीतिक वातावरणबारे प्रधानमन्त्री तथा रास्वपा सभापतिबीच भएको स्रोतले बतायो ।

त्यस्तै, रास्वपाले सुरु गर्न लागेको प्रशिक्षण अभियानका विषयमा पनि भेटमा छलफल भएको थियो । पार्टीको संगठनात्मक गतिविधि, प्रशिक्षण कार्यक्रम र आगामी दिनमा पार्टीले अघि बढाउने योजनाबारे लामिछानेले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।

भेटमा सरकारले ल्याउन लागेको अध्यादेश र संसद्को आगामी अधिवेशनका विषयले पनि प्रवेश पाएको थियो । संसद् बैठक आह्वान, संसद्मा पेस हुने विधेयक तथा सरकारले अघि बढाउने विधायिकी प्रक्रियाबारे दुई नेताबीच छलफल भएको बताइएको छ ।

यसैगरी, वर्तमान मन्त्रिपरिषद्का मन्त्रीहरूलाई कम्तीमा एक वर्षसम्म काम गर्न दिने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने, मन्त्रालयहरूबीच समन्वय बढाउने तथा मन्त्रीहरूको जिम्मेवारी र भूमिकाका विषयमा समेत कुराकानी भएको बताइएको छ । मन्त्री, मन्त्रालय र सरकारका काम कारबाहीबारे कुरा भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

संयोगवश, प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता भएकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको जनाएको छ ।

नयाँ मर्यादाक्रमअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो, कानुनमन्त्री सोविता गौतम तेस्रो, परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ पाँचौँ वरीयतामा छन् । यसअघि सातौँ स्थानमा रहेकी गौतम नयाँ मर्यादाक्रममा तेस्रो स्थानमा पुगेकी छन् ।

त्यस्तै, गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन् । मन्त्रिपरिषद्का अन्य सदस्यहरूको मर्यादाक्रमसमेत हेरफेर गरिएको छ । प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार