आइतबार, मंसिर ६ २०८३

आइतबार, मंसिर ६ २०८३

भारत भ्रमणमा प्रधानमन्त्री बालेनलाई गोरखाका पत्रकार कविराज ढकालको खुल्ला पत्र

आइतबार, मंसिर ६ २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका महत्वपूर्ण विषयलाई प्राथमिकताका साथ उठाउन गोरखाका पत्रकार कविराज ढकालले आग्रह गरेका छन्। पत्रकार ढकालले प्रधानमन्त्री शाहलाई खुल्ला पत्र लेख्दै राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको हितसँग जोडिएका विषयमा परिणाममुखी कूटनीतिक पहल गर्न आग्रह गरेका हुन्।

भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्चस्तरीय भेटवार्तामा नेपाली जनताको भावना र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ढकालले विशेषगरी नेपाल–भारतबीच लामो समयदेखि चर्चामा रहेका सीमा विवादको समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका छन्।

उनले ऐतिहासिक दस्तावेज, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान खोज्नुपर्ने बताउँदै संसद्मा नेपाली भूमि अतिक्रमणको विषयमा प्रधानमन्त्री शाहले उठाएको आवाजलाई स्मरण गराएका छन्। नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान हुने गरी परिणाममुखी द्विपक्षीय वार्ता अघि बढाउनुपर्ने उनको जोड छ।

त्यसैगरी, खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा देखिने चोरी, तस्करी, मानव बेचबिखन तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी सीमा सुरक्षा संयन्त्र निर्माण र दुई देशबीच समन्वय आवश्यक रहेको ढकालले बताएका छन्। नागरिकको सहज आवागमनलाई कायम राख्दै सीमा व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने उनको सुझाव छ।

पत्रकार ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सञ्चालनका लागि विशेष कूटनीतिक पहल गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। पोखरा–दिल्ली सिधा हवाई उडान सञ्चालन हुन सके पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, भारतीय पर्यटकको आगमन वृद्धि, व्यापार विस्तार तथा आर्थिक विकासमा टेवा पुग्ने उनको विश्वास छ।

यसैगरी, नेपाली कृषि उत्पादन, जडीबुटी, हस्तकला तथा घरेलु उद्योगका वस्तुहरू भारतीय बजारमा सहज रूपमा निर्यात गर्ने वातावरण बनाउन उनले आग्रह गरेका छन्। नेपाली व्यवसायीले भोग्दै आएका भन्सार तथा व्यापारिक अवरोध हटाउँदै व्यापार घाटा न्यूनीकरण र नेपाली उत्पादनको प्रवर्द्धनमा ठोस पहल गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

नेपालको जलविद्युत् उत्पादन, विद्युत् निर्यात तथा अन्तरदेशीय प्रसारण लाइन विस्तारमा दीर्घकालीन सहकार्य गर्नुपर्ने विषयलाई पनि ढकालले खुला पत्रमा समेटेका छन्। वर्षायाममा सीमावर्ती क्षेत्रमा देखिने बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानका लागि नदी नियन्त्रण, तटबन्ध निर्माण र पूर्वसूचना प्रणालीमा दुवै देशबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।

भारतमा अध्ययन, रोजगारी तथा व्यवसायका लागि रहेका नेपाली नागरिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न पनि प्रधानमन्त्री शाहले भारतीय पक्षसँग आवश्यक पहल गर्नुपर्ने ढकालले बताएका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमण औपचारिक भेटघाटमा मात्र सीमित नभई नेपाली जनताले लामो समयदेखि अपेक्षा गरेका सीमा समस्या, व्यापार, पर्यटन, ऊर्जा, सुरक्षा तथा नागरिक अधिकारजस्ता विषयमा सकारात्मक उपलब्धि हासिल गर्ने अवसर बन्नुपर्ने पत्रकार ढकालको आग्रह छ।

नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिलाई केन्द्रमा राख्दै भारतसँग पारस्परिक सम्मान, समानता र सहकार्यमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै ढकालले प्रधानमन्त्री शाहको सफल भारत भ्रमणको शुभकामनासमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार