काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत मध्यपूर्व क्षेत्रको नवौँ क्षेत्रीय सम्मेलनको तयारीलाई तीव्र बनाइएको छ । आगामी डिसेम्बर ११ र १२ तारिख कतारको दोहामा आयोजना हुने सम्मेलनलाई प्रभावकारी, उपलब्धिमूलक बनाउन सरकारी निकाय तथा विभिन्न सरोकारवालासँग भेटघाट र समन्वय भइरहेको छ ।
सम्मेलनको पूर्वतयारी तथा आवश्यक समन्वयका क्रममा मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठसहितको टोलीले आज नेपाल सरकार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं कार्यकारी निर्देशक यमेन्द्र उपाध्याय, प्रवक्ता कृष्ण अधिकारीलगायतसँग भेटघाट तथा छलफल गरेको हो ।
भेटमा सम्मेलनमा विशेष अतिथिका रूपमा सहभागिताका लागि यसअघि नै औपचारिक निमन्त्रणा गरिएको सन्दर्भमा छलफललाई निरन्तरता दिँदै सम्मेलनअन्तर्गत सामाजिक सुरक्षा कोषसँग सम्बन्धित विशेष सत्रको विषयवस्तु, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा, कोषमा आबद्धता तथा यसको प्रभावकारी कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा, हकहित र भविष्यको सुनिश्चितताका लागि सरकारी निकाय र गैरआवासीय नेपाली संघबीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि सकारात्मक छलफल भएको उनले बताए ।
सम्मेलनलाई उपलब्धिमूलक बनाउन मन्त्रालय तथा सम्बन्धित निकायबाट प्राप्त सहयोग, सहकार्य र सकारात्मक पहलप्रति श्रेष्ठले आभार व्यक्त गरेका छन् ।
यसैगरी, एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष जीवा लामिछानेसँग पनि भेटघाट गरी नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ । सम्मेलनलाई थप प्रभावकारी, उपलब्धिमूलक र ऐतिहासिक बनाउन लामिछानेको गरिमामय उपस्थिति, अनुभव, मार्गदर्शन तथा अभिभावकीय भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सहभागिताका लागि आग्रह गरिएको श्रेष्ठले बताएका छन् ।
कतारको दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका सामाजिक सुरक्षा, अधिकार, कल्याण तथा भविष्यको सुनिश्चितताका विषयमा महत्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ । सरकारी निकाय, एनआरएनए नेतृत्व तथा सरोकारवालाबीचको सहकार्यलाई मजबुत बनाउँदै श्रमिकका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउने सम्मेलनको उद्देश्य रहेको छ ।


