काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री प्रदीपकुमार सुनुवारले पार्टीको जारी १५औँ महाधिवेशनमा सह-महामन्त्री (अल्पसंख्यक तर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘अनुभव र ऊर्जाको संगम, स्वतन्त्रताबाट समृद्धिको नयाँ कदम’ भन्ने मूल विचार र ‘बदलौँ कांग्रेस, बदलौँ देश’ को सङ्कल्पसहित सुनुवार चुनावी मैदानमा ओर्लिएका हुन्।
गाविस अध्यक्षदेखि प्रदेश मन्त्रीसम्मको संघर्षपूर्ण यात्रा
२०२७ साल वैशाख १७ गते ओखलढुङ्गाको विकट गाउँ खिजिदेम्बा-५, खिजिफलाँटेमा जन्मिएका सुनुवारको राजनीतिक यात्रा केवल पदको खोजी होइन, तल्लो तहका जनताको सेवा र अनवरत निष्ठाको कथा हो।
२०४२ सालमा नेविसंघ जिरी इकाईबाट विद्यार्थी राजनीतिमा होमिएका उनले २०४९ मा कांग्रेसको क्रियाशील सदस्यता लिए। २०५४ को स्थानीय निकाय निर्वाचनमा खिजीफलाँटे गाविसको अध्यक्ष निर्वाचित भएर उनले गाउँगाउँमा पार्टी र विकासको जग बसालेका थिए।
ओखलढुङ्गा कांग्रेसको ११औँ र १२औँ महाधिवेशनबाट दुई कार्यकाल सफल जिल्ला सभापति बनेका सुनुवार नवौँ महाधिवेशन (२०५२) देखि निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्। २०६२/०६३ को जनआन्दोलनमा तरुण दल सगरमाथा अञ्चल संयोजकको भूमिकामा रहँदा उनले पटक-पटक हिरासत र यातना भोगेका थिए।
२०७९ को निर्वाचनमा ओखलढुङ्गा १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई उनले कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार, स्वास्थ्य र खानेपानी जस्ता महत्त्वपूर्ण मन्त्रालयको सफल नेतृत्व गरिसकेका छन्।
द्वन्द्वकालको सास्ती: माओवादी विस्थापनदेखि कांग्रेसको संरक्षण यात्रासम्म
प्रदीपकुमार सुनुवारको राजनीति त्याग र समर्पणको कसीमा खारिएको छ। सशस्त्र द्वन्द्वकालमा नेपाली कांग्रेसको सिद्धान्त र प्रजातन्त्रप्रति देखाएको दृढ निष्ठाकै कारण उनी माओवादीको तारो बने। तत्कालीन समयमा उनी सिङ्गो परिवारसहित गाउँबाट लखेटिए र विस्थापित जीवन बिताउन बाध्य भए।
घरबार र गाउँबाट विस्थापित हुनुपर्दा पनि उनले न कांग्रेस छोडे, न त आफ्नो लोकतान्त्रिक निष्ठासँग कुनै सम्झौता गरे। माओवादीको डर, त्रास र धम्कीका अगाडि कहिल्यै नझुकी निरन्तर अहोरात्र खटेर पूर्वी पहाडमा कांग्रेसको साङ्गठनिक विरासत जोगाउन उनी ढाल बनेर उभिए। साविक सगरमाथा अञ्चलका जिल्लाहरूमा कांग्रेसको उपस्थिति कमजोर हुँदा समेत उनले संगठनलाई गाउँगाउँमा संरक्षण र पुनर्जागृत गराउने नेतृत्वदायी भूमिका खेले।
अल्पसंख्यक समुदायको पहिलो केन्द्रीय सदस्य: अब पदाधिकारीमा दाबी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अल्पसंख्यक कोटाबाट सर्वाधिक २ हजार १७१ मत ल्याएर विजयी भएका सुनुवार सुनुवार समुदायबाट कांग्रेसको केन्द्रीय समितिमा पुग्ने इतिहासकै पहिलो नेता हुन्।
गाविस अध्यक्ष, दुई कार्यकाल जिल्ला सभापति, प्रदेशसभा सदस्य, चार पटक प्रदेश मन्त्री र सर्वाधिक लोकप्रिय मत पाएका केन्द्रीय सदस्यसम्मको यात्रा तय गरिसकेका सुनुवार निष्ठा, त्याग र समावेशी नेतृत्वका प्रतीक मानिन्छन्।
“मैले पार्टी र प्रजातन्त्रका लागि गाउँबाट विस्थापित भएर घरपरिवारसम्म जोखिममा पारेँ, तर कांग्रेसप्रतिको धर्म कहिल्यै छाडिनँ,” उम्मेदवारी घोषणा गर्दै सुनुवारले भने, “अब १५औँ महाधिवेशनमार्फत कांग्रेसलाई थप सुदृढ, आधुनिक र जनमुखी बनाउन, अनि युवाको ऊर्जा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्न सह-महामन्त्री पदमा मेरो उम्मेदवारी हो।”
आफ्नो जीवनभरको त्याग, साङ्गठनिक अनुभव र निष्ठालाई मूल्याङ्कन गर्दै १५औँ महाधिवेशनमा सहभागी सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई उनले अमूल्य मत दिएर विजयी गराउन अपिल गरेका छन्।