रौतहट । रौतहटको बौधिमाई नगरपालिका–८ बंकुलमा भएको मोटरसाइकल दुर्घटनामा २८ वर्षीय युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परोहा नगरपालिका–९ का जितेन्द्र दासको मृत्यु भएको हो। उनी भारतीय नम्बर प्लेटको बीआर ०५ एयू ०९०५ नम्बरको मोटरसाइकलमा मौलापुरबाट बंकुलतर्फ जाँदै थिए।
बुधबार राति भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी बंकुलबाट असई रमेशप्रसाद यादवको नेतृत्वमा टोली बिहान करिब ५ः३० बजे घटनास्थल पुगेको थियो।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट इन्स्पेक्टर भरत केसीको नेतृत्वमा थप टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय गौरबाट समेत मुचुल्का टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
मृतक दासको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।