काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसदहरूको अभिव्यक्ति, सोच र विज्ञताका आधारमा तीन तहको वर्गीकरण गरेका छन् । उनले इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई ‘एक्स्ट्रा अर्डिनरी’ अर्थात् असाधारण समूहमा राखेर व्याख्या गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभाका इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्।
प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन तहमा वर्गीकरण गरेर त्यसअनुसार उनीहरूले संसद्मा कस्तो भूमिका खेल्नुपर्ने भन्नेबारे धारणा राखेका थिए।
छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री शाहले सामान्य तहका सांसदले कार्यक्रम तथा आयोजनाका विषयमा कुरा गर्ने, त्यसभन्दा तलको तहले अरूलाई ‘यो गर, त्यो गर’ भनेर निर्देशन दिने र ‘एक्स्ट्रा अर्डिनरी’ सांसदले भने नयाँ विचार, सिर्जनशीलता र देश विकासका योजनाबारे सुझाव दिनुपर्ने बताएका थिए।
“इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्योभन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्। एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ। यो गरे देश बन्छ भनेर भन्नुपर्छ। तपाईंहरूको आइडियाले देश बन्छ,” प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती सांसदले बताएका छन्।
प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई औद्योगिकीकरणका लागि आवश्यक योजना र नयाँ अवधारणा दिन आग्रह गरेका थिए। संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गर्न सकिने भन्दै नयाँ विचार भएका सांसदसँग आफू सहज रूपमा भेट्न तयार रहेको उनले बताएका थिए।
छलफलमा सांसदहरूले पनि आफ्नो प्राविधिक क्षेत्रका अनुभव र सुझाव प्रधानमन्त्रीसमक्ष राखेका थिए। सहभागी सांसद डा. राम लामाका अनुसार देश विकासका लागि विद्यमान कानुनमा सुधार, ठूला विकास आयोजनालाई सहज बनाउने कानुनी व्यवस्था, वनसम्बन्धी कानुन तथा विद्युत्को स्वदेशी खपत बढाउने विषयमा छलफल भएको थियो।
लामाका अनुसार नेपालमा विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा त्यसलाई निर्यातमा मात्र केन्द्रित नगरी स्वदेशमै खपत बढाउने उद्योग तथा आयोजना सञ्चालन गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले विद्युत् खपत बढाउने योजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका थिए।
रासायनिक मल कारखाना स्थापनाको विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने र विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई आवश्यक सहुलियत दिने जानकारी सांसदहरूलाई दिएको लामाले बताएका छन्।
त्यस्तै, हालैको बाढीपहिरोबाट सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणबारे पनि छलफल भएको थियो। विपद्को जोखिमलाई ध्यानमा राखेर पूर्वाधारको डिजाइन तथा निर्माण गर्नुपर्ने विषय सांसदहरूले उठाएका थिए।
यसैबीच प्रधानमन्त्री शाहले केही नयाँ विधेयक आउने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव आवश्यक रहेको बताएका थिए। सांसदहरूले आफूले देखेको र भोगेको अनुभवका आधारमा कानुन निर्माणमा योगदान गर्न सक्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीले सांसदहरूको वर्गीकरण गरेको विषय सार्वजनिक भएपछि केही फरक व्याख्या पनि भएका छन्। छलफलमा सहभागी सांसद डा. राम लामाले भने प्रधानमन्त्रीको भनाइलाई सांसदहरूबीच विभेद वा औपचारिक वर्गीकरणका रूपमा लिन नहुने बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीको आशय इन्जिनियर सांसदहरूले आफ्नो प्राविधिक विज्ञता प्रयोग गर्दै संसद्मा विषय उठाउँदा थप अध्ययन, नयाँ सोच र सिर्जनशीलतासहित प्रस्तुत हुनुपर्ने भन्ने थियो।
छलफलमा नेपाली कांग्रेसका एक र राष्ट्रिय स्वतन्त्र पार्टीका १६ गरी १७ जना इन्जिनियरिङ पृष्ठभूमिका सांसद सहभागी थिए। प्रधानमन्त्री कार्यालयका अनुसार एमाले र नेपाली कम्युनिस्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसद नभएकाले उनीहरूलाई बैठकमा आमन्त्रण गरिएको थिएन। छलफल करिब दुई घण्टाभन्दा बढी चलेको थियो।