शुक्रबार, असोज १६ २०८३

शुक्रबार, असोज १६ २०८३

कतारका नेपालीका समस्या बोकेर अर्थमन्त्री वाग्लेसमक्ष एनआरएनए कतार

बुधबार, असोज १४ २०८३

दोहा । एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार पुगेका नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी कतार) ले नेपाली श्रमिक तथा प्रवासी नेपाली समुदायका साझा सरोकारका विषय प्रस्तुत गरेको छ।

नेपाली राजदूतावास, दोहाको सभाहलमा भएको भेटघाटका क्रममा एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीले कतारमा कार्यरत नेपाली श्रमिकका समस्या समेटिएको ज्ञापनपत्र अर्थमन्त्री वाग्लेसमक्ष हस्तान्तरण गरेका हुन्। ज्ञापनपत्रमा श्रमिक सहायता, कन्सुलर सेवा, कानुनी परामर्श, श्रमिक अधिकार, आपतकालीन उद्धार तथा सुरक्षित वैदेशिक रोजगारीसँग सम्बन्धित विषयलाई प्राथमिकता दिइएको छ।

एनआरएनएले नेपाली राजदूतावासमा श्रमिक सहायता डेस्क स्थापना गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग गरेको छ। श्रमिकले तलब, करार, रोजगारदाता, श्रम अधिकार तथा अन्य समस्यामा तत्काल सहायता र आवश्यक जानकारी प्राप्त गर्न सक्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

त्यसैगरी, दूतावासबाट उपलब्ध हुने सेवाका लागि सुरक्षित र सहज डिजिटल भुक्तानी प्रणाली लागू गर्नुपर्ने तथा श्रमिक कल्याण कोषको रकम पारदर्शी र प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने माग गरिएको छ।

कतारमा कार्यरत नेपाली श्रमिकले रोजगारदाताबाट समयमै तलब, सुरक्षित आवास तथा श्रमिक अधिकार पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ। श्रमिक अधिकार कार्यान्वयनका लागि नेपाल सरकार, नेपाली राजदूतावास र सम्बन्धित कतारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको एनआरएनएको भनाइ छ।


एनआरएनएले राहदानी तथा अन्य कन्सुलर सेवाको शुल्क पुनरावलोकन गर्नुपर्ने मागसमेत गरेको छ। श्रमिकका गुनासो तथा श्रमसम्बन्धी विवादमा सहज कानुनी सहायता र परामर्श उपलब्ध गराउनुपर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

बिरामी, बेखर्ची वा विभिन्न कारणले कतारमा अलपत्र परेका नेपालीको आपतकालीन उद्धार तथा स्वदेश फिर्ताका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा छ।

कतार आउने नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा जानुअघि नै रोजगार करार, तलब, बीमा, कामको प्रकृति, श्रमिक अधिकार, गुनासो प्रक्रिया तथा आपतकालीन सम्पर्कबारे पर्याप्त जानकारी उपलब्ध गराउनुपर्ने माग गरिएको छ। सुरक्षित र सूचनामा आधारित वैदेशिक रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा एनआरएनएले जोड दिएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका तथा पुनः वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका कानुनी तथा प्रक्रियागत समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने विषयसमेत ज्ञापनपत्रमा समेटिएको छ।

भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था, मुलुकका आर्थिक चुनौती तथा आगामी आर्थिक दिशाबारे संक्षिप्त धारणा राखेका थिए। नेपालमा पूर्वाधार विकास, पुनर्निर्माण तथा लगानी परिचालनका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकताबारे पनि छलफल भएको थियो।

एआईआईबीको ११औँ वार्षिक बैठक सेप्टेम्बर २८ र २९ मा दोहामा आयोजना भएको थियो। बोर्ड अफ गभर्नर्समा नेपालको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएका अर्थमन्त्री वाग्लेलाई एनआरएनए कतारका अध्यक्ष पन्थीले नेपालको आर्थिक विकास, पूर्वाधार तथा अन्तर्राष्ट्रिय लगानी परिचालनका क्षेत्रमा अघि बढाइने पहलका लागि शुभकामना व्यक्त गरेका थिए।

अर्थमन्त्रीसँग नेपाली समुदायका विषयमा विस्तृत अन्तरक्रिया कार्यक्रम आयोजना गर्न एनआरएनए कतारले नेपाली राजदूतावाससँग अनुरोध गरेको थियो। तर, अर्थमन्त्रीको व्यस्त कार्यतालिका र सीमित समयका कारण विस्तृत कार्यक्रम सम्भव नभएको जानकारी दूतावासबाट प्राप्त भएपछि सीमित सहभागितामा आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा एनआरएनए कतारका प्रतिनिधि सहभागी भएका थिए।

एनआरएनए कतारका अध्यक्ष पन्थीका अनुसार ज्ञापनपत्रमा समेटिएका विषय कुनै एक व्यक्ति वा संस्थाका समस्या नभई कतारमा कार्यरत हजारौँ नेपाली श्रमिक तथा समग्र नेपाली समुदायसँग प्रत्यक्ष जोडिएका साझा सरोकार हुन्।

उनले प्रवासी नेपालीका वास्तविक समस्या, आवश्यकता र आवाज सम्बन्धित सरकारी निकायसम्म पुर्‍याउने तथा समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

एनआरएनए कतारले आगामी दिनमा नेपाल सरकार, नेपाली राजदूतावास, कतारका सम्बन्धित निकाय तथा नेपाली समुदायसँग निरन्तर संवाद, समन्वय र सहकार्य गर्दै श्रमिकका समस्या समाधानका लागि पहल जारी राख्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार