आइतबार, असोज ११ २०८३

आइतबार, असोज ११ २०८३

लालबकैया तटबन्धमा बढ्यो बाढीको जोखिम, सुरक्षाकर्मी परिचालन

आइतबार, असोज ११ २०८३

रौतहट । लगातारको वर्षाका कारण लालबकैया नदीमा पानीको बहाव बढेसँगै रौतहटका विभिन्न क्षेत्रमा तटबन्ध भत्किने जोखिम बढेको छ। सम्भावित जोखिम न्यूनीकरण तथा बाढीबाट बस्ती जोगाउने तयारीस्वरूप जिल्ला प्रशासनले नदी तथा तटबन्ध क्षेत्रको निगरानी तीव्र पारेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोलीले आइतबार राजपुर नगरपालिका–२ स्थित लालबकैया नदीको पुल, तटबन्ध तथा कटान र डुबानको जोखिम रहेका क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

निरीक्षणमा नारायण दल गण रौतहटका गणपति सेनानी विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटका प्रमुख प्रहरी उपरीक्षक चेतराज जोशी, राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निरीक्षक कुमार बुढाथोकीलगायत स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी सहभागी थिए।

टोलीले यसअघि मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित लालबकैया तटबन्धको अवस्थासमेत निरीक्षण गरेको थियो। मर्यादपुरको तटबन्धमा ठूलो क्षति पुगे मौलापुरसहित गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवास क्षेत्र प्रभावित हुन सक्ने प्रशासनको आकलन छ।

यस्तै, फतुवा पुलनजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्धमा क्षति पुगे बाढीको पानी सदरमुकाम गौरसम्म पुग्न सक्ने जोखिम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्।

‘तटबन्ध जोगाउनु अहिलेको मुख्य प्राथमिकता हो,’ पौडेलले भनेका छन्, ‘जोखिमयुक्त क्षेत्रको निगरानी बढाउनुका साथै आवश्यक स्थानमा सुरक्षा जनशक्ति परिचालन गरिएको छ।’

तटबन्धमा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा राजपुर र मर्यादपुर क्षेत्रमा कटान सुरु भएका स्थानमा बाँस गाड्ने र बालुवाले भरिएका बोरा राख्ने काम भइरहेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन्।

उनका अनुसार बाढीको पानी बस्तीमा पस्न नदिन क्षतिग्रस्त तटबन्धको तत्काल मर्मत तथा संरक्षणमा सुरक्षाकर्मी परिचालन गरिएको छ। मर्मत कार्यमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मलाई आवश्यकताअनुसार खटाइएको रिजालले बताएका छन्।

लगातार वर्षा भइरहेकाले नदीको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। नदी तथा तटबन्ध आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा जोखिम क्षेत्रमा नजान तथा बाढीको सूचना प्राप्त भए तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार