आइतबार, असोज ११ २०८३

आइतबार, असोज ११ २०८३

अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनको पाँचौँ राष्ट्रिय अधिवेशन सम्पन्न, मीनराज नाथ अध्यक्षमा सर्वसम्मत

आइतबार, असोज ११ २०८३

बहराइन । अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनको पाँचौँ राष्ट्रिय अधिवेशन भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। २५ सेप्टेम्बर २०२६ मा बहराइनको राजधानी मनामास्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले मीनराज नाथलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशन आयोजक कमिटीका संयोजक रामु काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा एसिया प्रदेश समितिका संयोजक सनिकुमार ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बहराइनमा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, वैचारिक संगठनका प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार तथा नेपाली समुदायका दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि ओलीले पानसमा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहपछि नेपाल र बहराइनको राष्ट्रिय गान बजाइएको थियो। त्यसपछि नेपाली जनताको अधिकार, स्वतन्त्रता र परिवर्तनका लागि जीवन बलिदान गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

अधिवेशनमा अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनका संरक्षक स्वर्गीय भीम केरुङ तथा भदौ १० गतेको बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकहरूप्रति समेत श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

अधिवेशन आयोजक कमिटीका सदस्य मीनराज नाथले संगठनात्मक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनले स्थापना कालदेखि हालसम्म सञ्चालन गरेका विभिन्न गतिविधि, राजनीतिक तथा सामाजिक क्षेत्रमा निर्वाह गरेको भूमिका तथा प्रवासी नेपालीका अधिकार र सवाल उठाउन संगठनले खेलेको भूमिकाबारे उल्लेख गरिएको थियो। प्रवासमा रहेका नेपाली श्रमिक तथा समुदायका समस्यालाई संगठित रूपमा उठाउँदै सामाजिक एकता र सहकार्यलाई अघि बढाउनुपर्ने आवश्यकतामाथि पनि प्रतिवेदनले जोड दिएको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली मञ्च कतारका संयोजक राज देवकोटा, अन्तर्राष्ट्रिय नेपाली मञ्च साउदी अरबका महासचिव बासुदेव सापकोटा, नेपाल आदिवासी जनजाति महासंघ बहराइनका वरिष्ठ उपाध्यक्ष धनकुमार राई, नेपाली क्लब बहराइनका अध्यक्ष दूतप्रसाद (दीपक) गुरुङ, बहराइन नेपाली एकता समाजका अध्यक्ष धनबहादुर कार्की, प्रवासी नेपाली एकता समाज पानस बहराइनका अध्यक्ष सनबहादुर श्रेष्ठ, प्रवासी नेपाली मञ्च बहराइनका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बहराइनका अध्यक्ष शेरबहादुर राउत, नेपाली कांग्रेसका महासमिति सदस्य पदमसुन्दर गुरुङ तथा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं मध्यपूर्व इन्चार्ज शालिग्राम पन्तलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

वक्ताहरूले प्रवासी नेपाली श्रमिकहरूले भोगिरहेका समस्या, नेपाली समुदायबीचको एकता र सहकार्य, सामाजिक उत्तरदायित्व, नेपालको समसामयिक राजनीतिक अवस्था तथा प्रवासमा रहेका नेपाली संघ–संस्थाहरूको भूमिकालगायत विषयमा धारणा राख्नुभएको थियो। उहाँहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै प्रवासी नेपालीका साझा सवालमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

एसिया प्रदेश कमिटी सदस्य एवं अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनका इन्चार्ज नारायण रपाल विश्वकर्माले सन् २००९ देखि हालसम्म संगठनले तय गरेको यात्राबारे चर्चा गर्नुभएको थियो। उहाँले संगठनका विभिन्न पूर्वअध्यक्षहरूले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै विगतका अनुभवबाट शिक्षा लिएर आगामी दिनमा संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

अधिवेशनमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कलाकार असिम महतले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो भने कलाकार निर्मला अधिकारीले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो। अन्य कलाकारहरूले सामूहिक रूपमा क्रान्तिकारी गीत प्रस्तुत गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए।

प्रवासमा रहेर नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउनुभएका कलाकारहरू असिम महत, तेजेन्द्र थापा मगर, बामदेव भाट, तीर्थ घर्ती मगर, श्याम खराल, निर्मला भण्डारी र ज्ञानबहादुर भण्डारी ‘मिलन’लाई सम्मानपत्र प्रदान गरिएको थियो। सामाजिक क्षेत्रमा योगदान पुर्‍याउनुभएका वीरेन्द्र बुढाथोकीलाई समेत सम्मान गरिएको थियो।

अधिवेशनको बन्दसत्रमा निर्वाचन कमिटीका प्रमुख नारायण रपाल विश्वकर्माले निर्वाचन प्रक्रिया पूरा गर्दै नवनिर्वाचित कार्यसमितिको नामावली घोषणा गर्नुभएको थियो। उहाँले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहणसमेत गराउनुभएको थियो।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा मीनराज नाथ सर्वसम्मत निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा ओली राईन, गोपाल सेजवाल, अभिषेक श्रीपाली र रोजिना तामाङ, महासचिवमा जीवित कार्की ‘दुश्मन’, सचिवमा गगन पुन, कोषाध्यक्षमा चिन्तामणि सापकोटा तथा सह–कोषाध्यक्षमा गोपाल बि.क. निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा दलबहादुर बि.क., विकास तामाङ, किशोर किराती, भुपाल खनाल, प्रेम राई बान्तवा, मन्जूर अन्सारी, हलिम अन्सारी, रमन मियाँ, नासर अन्सारी, मुक्तार अन्सारी, एलियास अन्सारी, बिक्रमबहादुर अछामी, मसलाउद्दिन अन्सारी, कोरान अन्सारी र मुस्तफा अन्सारी निर्वाचित हुनुभएको छ।

 

शपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिले प्रवासी नेपालीबीच एकता, सहकार्य र संगठनात्मक सक्रियतालाई थप मजबुत बनाउँदै श्रमिक तथा नेपाली समुदायका सवाललाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

अधिवेशनको समापनमा आयोजक कमिटीका संयोजक रामु काफ्लेले आफ्नो कार्यकालमा संगठनले सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा सामना गरेका चुनौतीबारे धारणा राख्नुभयो। उहाँले आफ्नो कार्यकालमा संगठनलाई गतिशील बनाउँदै श्रमिक तथा प्रवासी नेपाली समुदायका सवालमा निरन्तर आवाज उठाउने प्रयास गरिएको बताउनुभयो।

जिम्मेवारीबाट अलग भए पनि संगठनको उद्देश्य, हित र अभियानमा आवश्यक साथ, सहयोग तथा समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै काफ्लेले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो। आगामी दिनमा संगठन अझ सशक्त, एकताबद्ध र जनमुखी रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, प्रतिनिधि, सदस्य, कलाकर्मी, शुभेच्छुक तथा सहभागीप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। सामूहिक रात्रिभोजसहित सम्पन्न अधिवेशनले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, सहकार्य र संगठनात्मक एकताको सन्देशसमेत दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार