काठमाडौँ । लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो सडक खण्ड भई यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरिएको छ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४:३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक सडकखण्डलाई बन्द गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्न सक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो ।
कार्यालयको बैठकको निर्णयअनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
वर्षा तथा बाढी, पहिरोको अवस्था मूल्यांकन गरी दिउँसोसमेत सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने जनाएको छ ।
उक्त निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई अनुरोध गर्ने निर्णय भएको छ ।
बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने तथा स्थानीय सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।