काठमाडौं, २० बैशाख । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रपति भण्डारीले आजै संयुक्त सदनमा आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ ।
सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिए । छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिने छन् ।
यस्तै बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई समेत पारित गरेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३१ को खण्ड क बमोजिम उक्त विधेयक प्रस्तुत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ ।