काठमाडौँ । संयुक्त अरब इमिरेट्स जाने नेपाली श्रमिकका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी प्रक्रियामा नयाँ सुविधा उपलब्ध हुने भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र नेपालस्थित संयुक्त अरब इमिरेट्सका राजदूतबीच भएको छलफलमा नेपाली श्रमिकलाई सहज हुने गरी विभिन्न विषयमा सहमति र प्रतिबद्धता जनाइएको हो।
भेटका क्रममा संघले वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स जाने नेपाली श्रमिकका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरणको व्यवस्था हटाउन आग्रह गरेको थियो। उक्त प्रमाणीकरण संयुक्त अरब इमिरेट्सको आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित भएकाले तत्काल पूर्णरूपमा हटाउन सम्भव नभए पनि शुल्क र समय घटाउने विषयमा सकारात्मक पहल भएको संघले जनाएको छ।
संघका अनुसार ‘अक्टोबर २०२६ देखि संयुक्त अरब इमिरेट्स वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको प्रहरी प्रमाणपत्र प्रमाणीकरणमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट’ दिइने भएको छ। यसअघि लामो समय लाग्दै आएको प्रमाणीकरण प्रक्रिया अब ‘तीन कार्यदिनभित्रै सम्पन्न हुने व्यवस्था’ मिलाइएको जानकारीसमेत राजदूतबाट प्राप्त भएको संघले जनाएको छ।
त्यस्तै, आगामी दिनमा नेपालबाट भ्रमण तथा व्यावसायिक भिसामा संयुक्त अरब इमिरेट्स जाने नेपाली नागरिकलाई प्रहरी प्रमाणपत्र प्रमाणीकरण गर्न नपर्ने व्यवस्था मिलाउने प्रतिबद्धता पनि राजदूतबाट व्यक्त भएको संघले जनाएको छ।
त्यसैगरी भेटका क्रममा नेपाली श्रमिकको हवाई यात्रा सहज बनाउने विषयमा समेत छलफल भएको थियो। संयुक्त अरब इमिरेट्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सञ्चालन गर्न थालेको र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत नियमित उडान सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी राजदूतले गराएको संघले जनाएको छ।
भैरहवा विमानस्थलबाट पनि छिट्टै नियमित उडान सञ्चालन गर्ने प्रतिबद्धता राजदूतबाट व्यक्त भएको बताइएको छ।
पोखरा र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार भएमा हवाई भाडा महँगो भएका कारण विगतमा भारत हुँदै गन्तव्य मुलुक जान बाध्य नेपाली श्रमिकलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
संघले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक तथा यस क्षेत्रमा कार्यरत व्यवसायीलाई पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन आग्रह गरेको छ। साथै, नियमित हवाई सेवा सञ्चालनलाई थप सहज, भरपर्दो र दीर्घकालीन बनाउन आवश्यक वातावरण निर्माण गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।
व्यवसायीहरूले भोग्दै आएका व्यावहारिक समस्या समाधानका लागि संघले सम्बन्धित सरकारी निकाय तथा कूटनीतिक नियोगसँग निरन्तर समन्वय, सहकार्य र पहल गर्दै आएको महासचिव हिराबहादुर डाँगी ‘हरि’ले जानकारी दिएका छन्।