काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ‘सिरिज २०२५’ उल्लेख भएको नयाँ डिजाइनको एक हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको हो।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको साविककै आकार कायम रहनेछ। नोटमा केही नयाँ सुरक्षा विशेषताहरू थप गरिएका छन्। नयाँ नोटको अगाडिको भागमा बीचतर्फ ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यस बैंकको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ’ भन्ने प्रतिबद्धतामूलक व्यवस्था उल्लेख गरिएको छ।
नोटको बायाँतर्फ हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहनेछ। पानीछापमा ‘१०००’ अंकसमेत रहने राष्ट्र बैंकले जनाएको छ। नोटको दायाँतर्फको खाली स्थानमा ‘१०००’ को केही अंश देखिने र प्रकाशतर्फ पारेर हेर्दा पूरा ‘१०००’ देखिने गरी ‘सी थ्रु रजिस्टर’ राखिएको छ।
दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोटको पहिचान गर्न सहज होस् भनेर तल्लो भागमा एक हजार अंक जनाउने ‘एम’ आकारको स्पर्शयोग्य संकेत राखिएको छ। साथै, अगाडिको भागमा हिमालको दायाँतर्फ १०र१० वटा तेस्रा रेखा राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटको अगाडिको भागमा अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र रहेको छ। नोटमा ३।५ मिलिमिटर चौडाइको चलायमान सुरक्षा धागोसमेत राखिएको छ। उक्त धागोमा सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता रहेको छ भने धागोमा ‘एनआरबी’ र ‘१०००’ अंक अंकित छन्।
नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको तल्लो भागमा ‘सिरिज नम्बर २०२५ एडी’ उल्लेख गरिएको छ।
नोटको पछाडिको भागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तीमध्ये ‘देवकली’ नामले चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने ‘राम’ र ‘लक्ष्मण’ नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ।
नयाँ नोटको पछाडितर्फ पनि ‘१०००’ को केही अंश देखिने सी थ्रु रजिस्टर रहनेछ। सात प्रदेश जनाउने गरी सातवटा लालीगुराँसका चित्रसमेत राखिएको छ। दायाँतर्फ ‘रुपीज वन थाउजेन्ड’ लेखिएको छ भने हनुमानढोका दरबारस्थित ऐतिहासिक महत्त्व बोकेको ढुंगेधारा अर्थात् पिलरको आकृति समावेश गरिएको छ।
राष्ट्र बैंकले यसअघि जारी भएका एक हजार रुपैयाँ दरका नोटसमेत कायमै चलनचल्तीमा रहने स्पष्ट पारेको छ। नयाँ डिजाइनको नोट बजारमा आएपछि पुराना नोटको वैधतामा कुनै असर नपर्ने जनाइएको छ।
राष्ट्र बैंकले यसअघि प्रकाशित सूचनामा सिरिज २०१९ को एक हजार रुपैयाँ दरको नोटका सम्बन्धमा उल्लेख भएको विवरण सच्याउँदै अब सिरिज २०२५ को एक हजार रुपैयाँको बैंकनोट चलनचल्तीमा ल्याउने व्यवस्था गरिएको जनाएको छ। नयाँ नोटको चलनचल्तीसम्बन्धी व्यवस्था राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार हुनेछ।
