काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनसम्पर्क समिति बेलायतको संयोजकको विशेष जिम्मेवारी शेरबहादुर सुनारलाई दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरबाट २०८३ असोज ३ गते जारी गरिएको पत्रमार्फत सुनारलाई उक्त जिम्मेवारी दिइएको हो। पत्रमा नेपाली जनसम्पर्क समिति बेलायतमा आबद्ध वर्तमान तथा पूर्व समितिका सदस्यहरूबीच आवश्यक संवाद र सबै पक्षसँग समन्वय गर्दै अधिवेशन सम्पन्न गराउने कायदिशसहित उनलाई संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ।
पत्रअनुसार सुनारले २०८३ असोज १० गतेभित्र नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न गराउनुपर्नेछ। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधनसहित) बमोजिम जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ। सभापति थापाले सुनारको नेतृत्वमा जनसम्पर्क समितिमा आबद्ध सबै पक्षसँग आवश्यक समन्वय गरी पार्टीले स्वीकृत गरेको विधानअनुसार सदस्यता वितरण तथा अधिवेशन सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्।
त्यसैगरी, संगठनलाई सुदृढ, गतिशील र परिणाममुखी बनाउन सुनारको नेतृत्वले भूमिका खेल्ने विश्वास पनि पत्रमा व्यक्त गरिएको छ। नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन प्रक्रियालाई पार्टीको केन्द्रीय महाधिवेशनसँग जोडेर अघि बढाइरहेको छ। कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार विभिन्न देशका जनसम्पर्क समितिको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो।
सुनारलाई दिइएको जिम्मेवारीसँगै बेलायतस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशन प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ। पत्रमा अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसँगै आवश्यक कार्यविवरण समेत संलग्न गरिएको उल्लेख छ।
“तपाईंको नेतृत्वमा जनसम्पर्क समितिमा आबद्ध सबै साथीहरूबीच आवश्यक संवाद गरी तोकिएको समयभित्र पार्टीले स्वीकृत गरेको विधानबमोजिम सबै पक्षसँग समन्वय गरी सदस्यता वितरण र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न हुने” अपेक्षा पत्रमा गरिएको छ।