आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्ने, प्रधानमन्त्री वालेन्द्र शाह असोज ६ गते अमेरिका जाने

आइतबार, असोज ४ २०८३

काठमाडौँ(जस)–संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार , परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् । यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ ।
यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या पनि हो।न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार