आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

नेतृत्व नछाड्ने ओलीको अडान, अहिलेका गतिविधिले आफुलाई कमजोर बनाउन नसक्ने दाबी

आइतबार, असोज ४ २०८३

काठमाडौँ(जस)–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने अडानमा रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टी विभाजन गराउने उद्देश्यले भइरहेका प्रयासले आफू र एमालेलाई असर नपार्ने बताए । उनले एमाले आफ्नो बाटोमा अघि बढिरहने दाबी गर्दै पार्टी फुटाउने प्रयास सफल नहुने बताए। आफूले पार्टीभित्र लामो समयदेखि विभिन्न चुनौतीको सामना गर्दै आएको उल्लेख गरे । उनले आफूलाई अहिलेका गतिविधिले कमजोर बनाउन नसक्ने बताए ।
“केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए । मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ,” ओलीले भने। महाभारतको प्रसङ्ग उल्लेख गर्दै उनले जटिल परिस्थितिमा भीष्मपितामह ढलेको उदाहरण दिए पनि आफू त्यस्तो अवस्थामा नरहेको बताए । आफू करिब छ दशकदेखि एमालेको राजनीतिमा रहेको उल्लेख गर्दै ओलीले अहिले पार्टीमाथि विभिन्न दिशाबाट हमला भइरहेको र नयाँ पार्टी बन्न लागेको भन्ने हल्ला फैलाइएको दाबी गरे। पार्टीमा अध्यक्ष र महासचिवको जिम्मेवारीसमेत बाँडफाँट भइसकेको भन्ने समाचारलाई ओलीले अस्वीकार गरे । उनले असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकपछि पार्टी एकता कायम राख्दै आगामी कामको स्पष्ट संकल्पसहित अघि बढ्ने बताए ।
“पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ,” उनले भने। पार्टी विभाजन गराउने उद्देश्यले भइरहेका गतिविधि सफल नहुने दाबी गर्दै ओलीले कुन्ती मुक्तानको गीतको प्रसङ्गसमेत उल्लेख गरे । “एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर, म यत्तिकै यहाँ आइपुगेको होइन,” ओलीले भने। ओलीले नेपालको संविधान लामो राजनीतिक संघर्ष, जनताको त्याग र बलिदानको प्रतिफल भएको बताएका छन् । संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान जारी भएपछि बितेको १२ वर्षको अवधि सहज नभएको बताए ।
‘हामी १२औँ संविधान दिवस मनाइरहेका छौँ । यसबीचका समयहरू सहज रहेनन्। अप्ठ्याराहरू रहे, उतारचढावहरू रहे,’ उनले भने, ‘यसबीचमा वास्तवमा लोकतन्त्रलाई लोकतान्त्रिक प्रणालीका रूपमा सञ्चालन गर्न, यसको रक्षा गर्न र अगाडि बढाउन साना चुनौतीहरूको सामना गर्नुपरेन । ठूला चुनौतीहरूको सामना ग¥यौँ । निरन्तर चुनौतीहरूको सामना ग¥यौँ । आक्रमणको सामना ग¥यौँ । संविधानको रक्षा र कार्यान्वयन गर्दै अगाडि बढिरहेका छौँ ।’ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा कार्यान्वयनका क्रममा ठूला चुनौतीहरूको सामना गर्नुपरेको बताए । संविधान जारी गर्नु दोस्रो संविधानसभाको उपलब्धिमा मात्र सीमित नरहेको धारणा राखे । नेपाली जनताले लामो समयदेखि न्यायपूर्ण, समतामूलक, समृद्ध, विकसित र सुविधासम्पन्न मुलुक निर्माणको आकांक्षा राख्दै आएको उनले बताए ।
उनका अनुसार ती आकांक्षा पूरा गर्ने क्रममा विभिन्न कालखण्डमा नेपाली जनताले संघर्ष, योगदान र बलिदान गरेका छन् । उनले भने, ‘अहिलेभन्दा सय वर्ष अगाडि, अहिलेभन्दा ९० वर्ष अगाडिदेखि सुरु भएका सुसंगठित प्रयासहरू र ती प्रयासका क्रममा गर्नुपरेको योगदान तथा बलिदान, बगाउनुपरेको आँसु र बेहोर्नुपरेका क्षतिहरूको प्रतिफल संविधान हो ।’ ओलीले संविधान प्राप्तिको यात्रालाई नेपालको लामो राजनीतिक संघर्षसँग जोड्दै विगतका शासन व्यवस्थामा पनि जनताका न्याय र अधिकारसम्बन्धी आकांक्षा रहेको बताए । उनले ती आकांक्षालाई संस्थागत गर्दै संविधानको रक्षा र कार्यान्वयनलाई अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार