आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

एनपीएलको तेस्रो संस्करणमा कुन टिमको भिडन्त कहिले र कुन टीमसँग ? यस्तो छ तालिका

आइतबार, असोज ४ २०८३

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको खेल तालिका शनिबार सार्वजनिक गरेको हो ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ अर्थात् कात्तिक १० गतेदेखि सुरु हुनेछ । प्रतियोगिताको फाइनल नोभेम्बर २१ अर्थात् कात्तिक २५ गते हुनेछ । उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल कात्तिक १० गते सोमबार दिउँसो ४ः३० बजे सुरु हुनेछ ।

एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । एक दिनमा एउटा मात्र खेल हुने अवस्थामा भने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।

कात्तिक ११ गते विराटनगर किङ्सले चितवन राइनोजसँग तथा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग खेल्नेछ । कात्तिक १२ गते पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कात्तिक १३ गते जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजसँग तथा कर्णाली याक्सले विराटनगर किङ्ससँग खेल्नेछ । कात्तिक १४ गते विश्राम हुनेछ ।

कात्तिक १५ गते लुम्बिनी लायन्स र चितवन राइनोज तथा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच खेल हुनेछ । कात्तिक १६ गते जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

कात्तिक १७ गते काठमाडौँ गुर्खाजले कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग खेल्नेछ । कात्तिक १८ गते विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । कात्तिक १९ गते विश्राम हुनेछ ।

कात्तिक २० गते लुम्बिनी लायन्सले जनकपुर बोल्ट्स तथा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ससँग खेल्नेछ । कात्तिक २१ गते सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । कात्तिक २२ गते काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने कात्तिक २३ गते विश्राम राखिएको छ ।

कात्तिक २४ गते पोखरा एभेन्जर्स र कर्णाली याक्स तथा चितवन राइनोज र काठमाडौँ गुर्खाजबीच खेल हुनेछ । कात्तिक २५ गते सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २६ गते विश्राम हुनेछ ।

कात्तिक २७ गते विराटनगर किङ्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ । कात्तिक २८ गते काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २९ गते विराटनगर किङ्स र लुम्बिनी लायन्स तथा कात्तिक ३० गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणपछि प्लेअफका खेल सञ्चालन हुनेछन् । पहिलो क्वालिफायर नोभेम्बर १७ मा हुनेछ, जसमा लिग चरणको पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर १८ मा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर हुनेछ ।

नोभेम्बर १९ मा क्वालिफायर–१ मा पराजित टोली र एलिमिनेटरको विजेताबीच क्वालिफायर–२ हुनेछ । उपाधिका लागि फाइनल नोभेम्बर २१ अर्थात् कात्तिक २५ गते हुनेछ । फाइनलमा क्वालिफायर–१ र क्वालिफायर–२ का विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालका आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एनपीएलको तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार