काठमाडौं(जस)–युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवद्र्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त निर्देशिकाको प्रावधानअनुरुप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रममन्त्रीको संयोजकत्वमा बिहीबार बैठक बसेको हो । निर्देशन तथा समन्वय समितिको बैठकमा यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गरिने निर्णय गरेको छ । यस किसिमको मेलालाई क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन गर्ने गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको उद्देश्य छ ।
तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घ÷महासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको समन्वय र सहकार्यमा मेला सञ्चालन हुने भएकाले सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवद्र्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने सबै सरोकारवालाहरूलाई सहभागिताका लागि पनि मन्त्रालयले आह्वान गरेको छ ।
बैठकपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउनुपर्नेमा जोड दिँदै नेपालमा रोजगारी गर्न तथा उद्यमी बन्न सकिन्छ भन्ने अनुभूतिसहित सकारात्मक सन्देश दिन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । मन्त्री यादवले आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सरकार र निजी क्षेत्रसहित सबै सरोकार भएका निकायले सहकार्य गरी सीप र रोजगारीको एक बलियो प्रणाली (इकोसिस्टम) निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । यस प्रणाली निर्माणमा यो सीप तथा रोजगार मेला कोसेढुङ्गा बन्ने उनले विश्वास व्यक्त गरे ।
सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको मन्त्री यादबले बताए । आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवद्र्धन दशक (२०८३–२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई सरकारले निरन्तरता दिएको हो । ‘युवा जनशक्तिको ऊर्जा तथा सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने नीतिगत लक्ष्यअनुरूप युवा, श्रम तथा रोजगार मन्त्रालयले असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सात दिने सीप तथा रोजगार मेला आयोजना गर्दैछ । यस अभियानलाई देशभर विस्तार गर्न मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी काम थालिसकेको छ’, यादबले भने ।
यसै क्रममा श्रम मन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति गठन गरी प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासनसँगको सहकार्यमा मेलाको समग्र व्यवस्थापन भइरहेको छ । यस मेलामा निजी क्षेत्र, उद्योग–प्रतिष्ठान, तालिम प्रदायक संस्था, विकास साझेदार र सामाजिक सुरक्षा कोष लगायतका स्टल रहनेछन् । मेलाले रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गरी रोजगार खोजकर्तालाई उनीहरूको योग्यता, सीप र रुचिअनुसार रोजगारी मिलान, सीप परीक्षण, तालिम, करियर परामर्श र उद्यमशीलता सेवासँग जोड्ने लक्ष्य लिएको छ । यसरी सरकारले नीति तथा कार्यक्रममा लिएको लक्ष्यअनुसार स्वदेशमै रोजगारीका अवसर अभिवृद्धि गर्ने कार्यलाई ठोस रूपमा अघि बढाइरहेको छ ।