शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

दुई महिनामा विमानस्थलबाट ४५ जना अवैध सुनसहित पक्राउ

बिहिबार, असोज १ २०८३

काठमाडौं(जस)–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६ सय ४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विदेशबाट नेपाल आएका यात्रुमाथि गरिएको सुरक्षा निगरानी तथा जाँचका क्रममा उक्त परिमाणको सुन बरामद भएको हो । बरामद सुनको अनुमानित मूल्य ४ करोड ४५ लाख ७३ हजार १ सय ८३ रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा विदेशबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई प्रलोभनमा पारी तस्करहरूले उनीहरूमार्फत सुन नेपाल भित्र्याउने प्रयास गरेको खुलेको छ । सुन ओसारपसारमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि सम्बन्धित निकायसँगको समन्वयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । यस अवधिमा विमानस्थलबाट भन्सार छली ल्याइएका करिब ८८ लाख २२ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्रीसहित थप १० जना पनि नियन्त्रणमा परेका छन् ।
सुरक्षा जाँचका क्रममा विदेशबाट आएका नेपाली तथा विदेशी नागरिकले प्रचलित भन्सार कानुन तथा नियमविपरीत ल्याएका मोबाइल फोन, ल्यापटप, आइप्याडलगायतका विद्युतीय सामग्री बरामद गरिएको कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएका १० जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ । विमानस्थल सुरक्षा कार्यालयले सुन तथा भन्सार छलीका सामग्रीको ओसारपसार नियन्त्रणका लागि यात्रु तथा सामानको जोखिममा आधारित सुरक्षा जाँच, एक्स–रे स्क्रिनिङ, सूक्ष्म निगरानी र सूचना संकलनलाई निरन्तरता दिएको जनाएको छ । कार्यालयले विमानस्थल प्रयोग गर्ने यात्रुलाई प्रचलित कानुन तथा भन्सारसम्बन्धी व्यवस्था पालना गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार