काठमाडौँ (जस)–नेपाली कांग्रेसको राजनीतिमा जारी गतिरोधकाबीच बिहीबार सानेपास्थित पार्टी कार्यालयमा फरक दृश्य देखियो । सात दशकको विरासत बोकेको कांग्रेसमा पाँच दशक उमेर कटेका गगन थापा सभापति बन्दा पार्टीभित्र शेरबहादुर देउवा समूहले अस्वीकार गर्दै आएको छ । तर, विवादकै बीच बिहीबार बसेको केन्द्रीय समिति बैठकका बेला फरक दृश्य देखिएको हो । पूर्वसभापति शेरबहादुर देउवा पक्षले सिर्जना गरेका शृंखलाबद्ध अवरोध र विशेष महाधिवेशनको वैधानिकतामाथि उठेका प्रश्नहरूलाई चिर्दै थापा १५औँ महाधिवेशनतिर अघि बढेका छन् ।
यसैक्रममा बिहीबार सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसभित्रको राजनीतिक परिदृश्यमा फेरबदल ल्याएको हो । लामो समयदेखि देउवा समूहमा रहेका केन्द्रीय सदस्य तथा पदाधिकारीहरू गगनले बोलाएको बैठकमा सहभागी भएपछि पार्टीमा एकताको नयाँ अध्याय सुरु भएको महसुस गरिएको छ । १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले लिएको पहलले सार्थकता समेत पाएको छ । बैठकमा सहभागी हुन आएका देउवा समूहका अधिकांश नेताहरूले आफ्ना पूर्वसर्तहरू पूरा हुँदै गएकाले आफूहरू मूलधारको प्रक्रियामा फर्किएको बताएका छन् । नेताहरू मीन विश्वकर्मा, रामहरि खतिवडा, गोविन्द भट्टराई लगायतका नेताहरूले पार्टीको झन्डा र चुनाव चिह्न जहाँ छ, त्यहीँ बसेर महाधिवेशनमा भाग लिनु आफ्नो दायित्व भएको उल्लेख गरे ।
नेता मीन विश्वकर्माले देउवा समूहले अघि सारेका मागहरू सम्बोधन हुने क्रममा रहेकाले आफूहरू बैठकमा सामेल भएको स्पष्ट पारे । उनले पूर्वसभापति देउवालाई ‘सर्वोच्च नेता’को रूपमा सम्मान गर्दै उनले पार्टीलाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियामा रहेको बताए । त्यसैगरी, नेता रामहरि खतिवडाले आफू कुनै गुटको नभई ‘कांग्रेसको गुट’ भएको बताउँदै पार्टीलाई बलियो बनाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै तहका सदस्यहरूलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने गरी साङ्गठनिक व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, ‘सदस्यताको नाममा अब कुनै पनि साथीहरू अधिवेशनबाट वञ्चित हुने छैनन् । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत आगामी महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने निर्णय भएको छ ।’
सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई ‘महोत्सव’का रूपमा सम्पन्न गर्न आफू हदैसम्म लचक हुन तयार रहेको बताए । उनले बैठकमा बोल्दै भने, ‘अघिल्ला महाधिवेशनहरूमा भएका तिक्तता र मतभिन्नताहरूलाई बिर्सौँ । अबको महाधिवेशनमा सबै साथीहरूलाई समेटेर अघि बढ्नुको विकल्प छैन ।’ सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान व्यक्त गर्दै उनलाई १५औँ महाधिवेशनको उद्घाटन गरिदिन सार्वजनिक रूपमै अनुरोध गरेका छन् । ‘म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु– हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन । पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ उनले भने । थापाले पार्टीको विधान र प्रक्रियाअनुसार सबैलाई अधिकार सुनिश्चित गर्दै लैजान आफू प्रतिबद्ध रहेको बताए ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टी कार्यालयको ढोका मात्र नभई ‘हृदयको ढोका’ पनि सबैका लागि खुला रहेको भन्दै एकताको अपिल गरे । महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलले पनि नेताहरूको यो पुनर्मिलनलाई पार्टीको ताकतका रूपमा व्याख्या गर्दै महाधिवेशनको तयारीमा जुट्न सबैलाई आह्वान गरे । कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते सुरु हुँदैछ भने असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारी छ । अब देउवासँग सानो समूह रहेको बताइएको छ । सो समूहले मंसिरमा महाधिवेशन गर्ने भनेको छ ।
यसैबीच कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विभाजन र गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेसको आसन्न महाधिवेशन र मुलुकको वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका हुन् । विज्ञप्तिमा डा. कोइरालाले लेखेका छन्, ‘नेपाली कांग्रेस आज आफ्नो विरासत र आदर्शबाट विचलित हुँदै गएको छ । हामी न अजेय छौं, न त विजयी नै । हामी विभाजित र गन्तव्य हराएको माझीझैं भएका छौं ।’ उनले पार्टीका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक र नैतिक दर्शनलाई आत्मसात गर्दै पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएका छन् ।
रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा प्राकृतिक प्रकोपका कारण नागरिकले भोगिरहेको पीडाप्रति पार्टी गम्भीर नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘नेपाली जनता रोइरहेका छन्, परिवारका सदस्य गुमाएका छन् । उनीहरूको पीडाको मल्हम बन्नुपर्ने कांग्रेस किन कानुन र विधानका धारामा अल्झिएर मानवीय संवेदनासँग खेलबाड गर्दैछ ?’ उनले प्रश्न गरेका छन् । पार्टीको आसन्न दुईवटा महाधिवेशनले देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पार्न सक्ने नकारात्मक असरप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।