काठमाडौं(जस)–प्रहरीले १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका एक युवकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विभिन्न समयमा प्राप्त गोप्य सूचनाका आधारमा मलेसियालगायत विभिन्न मुलुकबाट भइरहेको अवैध हुण्डी कारोबारबारे सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्दै आएको थियो । अनुसन्धानका क्रममा विभिन्न व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी ठूलो रकमको हुण्डी कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।
सिआइबीका अनुसार अनुसन्धानबाट हालसम्म रु. १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १ सय ४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको पुष्टि भएको छ । उक्त कारोबारमा संलग्न रहेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखिया पक्राउ परेका छन् । उनलाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सिआइबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले २०८३ भदौ ३० गते साँझ करिब ५ः२० बजे शहीदनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त अवैध कारोबारमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने भएकाले उनीहरूको खोजी तथा अनुसन्धानलाई तीव्र पारिएको छ । व्यक्तिगत तथा व्यावसायिक बैंक खातामार्फत ठूलो रकमको कारोबार भएको विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ । सिआइबीले हुण्डीलगायतका गैरकानुनी आर्थिक कारोबारबारे जानकारी भए प्रहरीलाई सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । गोप्य सूचना दिने व्यक्ति तथा सूचनाको उच्च गोपनीयता कायम राखिने प्रहरीले जनाएको छ ।