काठमाडौं(जस)–बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य सेवा विस्तार गर्ने भएको छ । कम्पनीले विदुर मेडिकल कलेजसँगको सहकार्यमा बाढी प्रभावित समुदायलाई लक्षित गरी सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो । सोही अभियानलाई निरन्तरता दिँदै कम्पनीले अब बाढी प्रभावित बस्तीमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
आर्या फार्मा ल्याब र विदुर मेडिकल कलेजबीचको सहकार्यअनुसार विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविर विदुर नगरपालिका–७ स्थित सरोचना स्कुल, वडा नं. ५ स्थित त्रिभुवन विद्यालाय तथा वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने योजना रहेको छ । शिविरमा स्थानीय बासिन्दालाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ । साथै आवश्यक औषधि निःशुल्क वितरण गर्नुका साथै विभिन्न रोगको परीक्षण सेवा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
शिविरका क्रममा थप उपचार आवश्यक देखिएका बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि मिलाइनेछ । बाढीपछि प्रभावित परिवारमध्ये धेरैजना आर्थिक तथा व्यवहारिक कठिनाइका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न लागिएको आर्या फार्मा ल्याबले जनाएको छ । कम्पनीका अनुसार औषधिजन्य सामग्री सहयोगदेखि प्रभावित बस्तीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानसम्मका गतिविधिले विपद्को कठिन समयमा प्रभावित परिवारसँगै उभिने तथा उनीहरूको स्वास्थ्य र पुनःस्थापनाको यात्रामा सहयोग गर्ने प्रतिबद्धता झल्काउँछन् । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आर्या फार्मा ल्याबले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिएको जनाएको छ ।