काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै राष्ट्रिय संगीतकर्मी संघले भदौ २७ गतेका लागि तय गरेको तीज विशेष कार्यक्रम स्थगित गरेको छ ।
देश नै दुःखद घटनाको शोकमा रहेका बेला उत्सवमूलक कार्यक्रम आयोजना गर्नु उचित नहुने निष्कर्ष निकाल्दै संघले कार्यक्रमको मिति परिवर्तन गरेको हो ।
संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश दुलाल ‘कागे’ का अनुसार स्थगित तीज विशेष कार्यक्रम अब २०८३ असोज २५ गते आइतबार, घटस्थापनाका दिन दशैं विशेष कार्यक्रमका रूपमा आयोजना गरिनेछ । विपद्को पीडामा रहेका नागरिक तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै तत्कालका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालले देशमा घटेको दुःखद घटनाका कारण कार्यक्रम स्थगित गर्नुपरेको बताए । भोटेकोशी बाढीले पुर्याएको क्षति र त्यसबाट सिर्जित पीडाको अवस्थामा तीजको उत्सव मनाउनु उपयुक्त नदेखिएपछि सामूहिक रूपमा कार्यक्रम सार्ने निर्णय गरिएको उनको भनाइ छ ।
कटुवालले विपद्को समयमा मनोरञ्जनभन्दा मानवीय संवेदना र पीडितप्रतिको ऐक्यबद्धतालाई प्राथमिकता दिनुपर्ने बताए । ‘देशमा दुःखद घटना घटेको अवस्थामा हामीले पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिन उचित ठानेनौं । अहिलेको अवस्थामा पीडित परिवारको पीडा र समग्र देशको संवेदनालाई सम्मान गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।
कार्यक्रमको मिति परिवर्तन हुँदा कलाकार, आयोजक, प्रायोजक, व्यवस्थापन पक्ष तथा कार्यक्रमसँग जोडिएका सबैमा पर्न गएको असुविधाप्रति उनले क्षमायाचना गरेका छन् । आगामी कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैको सहयोग र सहभागिताका लागि आग्रह गरेका छन् ।
संघले घटस्थापनाको अवसर पारेर आयोजना गर्न लागेको दशैं विशेष कार्यक्रमलाई नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धनसँग जोड्ने तयारी गरेको जनाएको छ । कार्यक्रम सफल बनाउन सम्पूर्ण संगीतकर्मी, कलाकार, शुभेच्छुक तथा दर्शकलाई सहयोग र सहभागिताका लागि संघले अपिल गरेको छ । यससँगै भदौ २७ गतेका लागि तय भएको तीज विशेष कार्यक्रम अब असोज २५ गते घटस्थापनाका दिन दशैं विशेष कार्यक्रमका रूपमा आयोजना हुने भएको छ ।