शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

स्मृतिमा वासु र बैरागी

बिहिबार, भाद्र २५ २०८३

– इन्द्रराज भट्टराई

इतिहास मिति, घटना र पात्रहरूको सूची मात्र होइन । इतिहास मानिसहरूले देखेका सपना, भोगेका सङ्घर्ष, गरेका निर्णय र ती निर्णयका लागि चुकाएको मूल्यको जीवित दस्तावेज पनि हो । कतिपय इतिहास पुस्तकमा लेखिन्छन् । कतिपय इतिहास स्मारक र शिलालेखमा अङ्कित हुन्छन् । तर कतिपय इतिहास मानिसहरूको सम्झनामा बाँच्छन् । ती सम्झनाले आँखामा आँसु ल्याउँछन् । मनमा धेरै प्रश्न उठाउँछन् । र, भविष्यका लागि चेतना पनि जगाउँछन् ।

त्यसैले कुनै व्यक्तिलाई सम्झनु भनेको विगततर्फ फर्केर हेर्नु मात्र होइन । स्मरण गर्नु भनेको उसले बोकेको विचारलाई बुझ्नु हो, उसले हिँडेको बाटोको समीक्षा गर्नु हो र उसको जीवनबाट आजको समाजले के सिक्न सक्छ भन्ने प्रश्न गर्नु पनि हो ।

सुरेश वाग्ले ‘वासु’ र भिमसेन पोखरेल ‘बैरागी’लाई सम्झँदा मेरो मनमा यस्तै अनेक स्मृति, प्रश्न र भावनाहरू एकैसाथ जाग्छन् । उहाँहरू नेपालको राजनीतिक इतिहासको एउटा जटिल र निर्णायक कालखण्डका पात्र हुनुहुन्थ्यो । त्यो समय सङ्घर्षको थियो, परिवर्तनको आकांक्षाको थियो, विद्रोह र बलिदानको थियो । देशले एउटा नयाँ राजनीतिक धर्सा कोर्न खोजेको थियो । त्यही खोजीको यात्रामा हजारौँ मानिसले आफ्नो जीवन, परिवार, सुख र व्यक्तिगत भविष्यलाई पछाडि छोडे ।

वासु शिक्षक हुँदै राजनीतिक आन्दोलनमा सक्रिय हुनुभयो । बैरागी विद्यार्थी राजनीतिबाट अघि बढ्दै पूर्णकालीन राजनीतिक तथा सैन्य भूमिकातर्फ लाग्नुभयो । जीवनका फरक बाटाहरूबाट यात्रा सुरु गरेका यी दुई व्यक्तित्व अन्ततः एउटै सङ्घर्षपूर्ण राजनीतिक यात्रामा जोडिनुभयो ।

तर, मेरा लागि उहाँहरू इतिहासका पात्र मात्र होइनन् । वासु मेरा आदरणीय गुरु हुनुहुन्थ्यो । बैरागी मेरा प्रिय मित्र थिए । त्यसैले उहाँहरूको सम्झना मेरा लागि इतिहासको विषय मात्र होइन । उहाँहरूको सम्झना मेरो आफ्नै जीवनसँग जोडिएको छ । यो मेरो मनमा बसेको एउटा गहिरो स्मृति हो ।

दश वर्षे शशस्त्र जनयुद्धका क्रममा २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा भएको घटनाले मेरो जीवनको एउटा पाटोलाई सधैँका लागि बदलिदियो । दुश्मनको घेराबन्दीमा परेर मेरा आदरणीय गुरु वासु र मेरा प्रिय मित्र बैरागीले जीवन गुमाउनुभयो । त्यो घटनालाई सम्झँदा समय धेरै टाढा पुगिसकेको जस्तो लाग्छ, तर स्मृतिहरू भने कहिलेकाहीँ हिजोको जस्तै ताजा भएर मनमा आइपुग्छन् ।

समय बित्छ । मानिसहरू बूढा हुन्छन् । ठाउँहरू बदलिन्छन् । शासन व्यवस्था बदलिन्छ । तर केही मानिसहरू यस्ता हुन्छन्, जसको अनुपस्थितिले समय बिते पनि मनभित्र एउटा खाली ठाउँ सधैँ रहिरहन्छ । वासु र बैरागी मेरो जीवनका त्यस्तै स्मृतिहरू हुन् ।

वासुलाई सम्झँदा मलाई सबैभन्दा पहिले उहाँको राजनीतिक परिचय याद आउँदैन । मलाई सबैभन्दा पहिले उहाँ शिक्षक हुनुहुन्थ्यो भन्ने कुरा याद आउँछ । उहाँ मेरा शिक्षक अर्थात् गुरु हुनुहुन्थ्यो ।

शिक्षकको भूमिका कक्षाकोठाभित्र मात्र सीमित हुँदैन । शिक्षकले पाठ्यपुस्तकका अक्षर मात्र पढाउँदैन; उसले विद्यार्थीलाई संसार बुझ्ने आँखा पनि दिन्छ । कहिलेकाहीँ शिक्षकले बोलेको एउटा सामान्य वाक्य विद्यार्थीको जीवनभर साथ रहन्छ । कुनै सुझाव, कुनै व्यवहार, कुनै प्रेरणा वा कुनै सामान्य संवादले पनि मानिसको सोच्ने तरिका परिवर्तन गरिदिन सक्छ ।

मेरो विद्यार्थी जीवनमा सुरेश सरसँग जोडिएका धेरै सम्झनाहरू छन् । तीमध्ये धेरै साना घटना हुन् । तर ती घटना आज पनि मेरो मानसपटलमा ताजा छन् । नागरिकताको फोटो खिचाउन जाँदा उहाँले मलाई टोपी लगाइदिनुभएको थियो । सामाजिक र राजनीतिक विषयमा पनि उहाँसँग धेरै कुरा हुन्थे । त्यतिबेला यी कुरा सामान्य लाग्थे । तर आज सम्झँदा ती क्षणको महत्व बुझ्छु । मानिसको व्यक्तित्व साना–साना घटनाबाट पनि बन्छ । जीवनमा यस्ता घटनाले ठूलो प्रभाव पार्दा रहेछन् । कहिलेकाहीँ जीवनलाई परिवर्तन गर्ने कुरा कुनै ठूलो भाषण हुँदैन ।

एउटा आत्मीय व्यवहार हुन्छ । एउटा प्रेरणादायी वाक्य हुन्छ । एउटा शिक्षकको विश्वास हुन्छ । “जीवनमा प्रायः चुनौतीहरू आइरहन्छन्, जसले सामना गर्ने हिम्मत गर्छ, उसैले विजय प्राप्त गर्छ ।” वासु सरसँग जोडिएको यो भनाइ आज पनि मेरो मनमा गहिरो गरी बसेको छ । समय बदलिएको छ, परिस्थिति बदलिएका छन्, तर यो वाक्यको अर्थ आज पनि उत्तिकै गहिरो लाग्छ । किनकि जीवन आफैँ चुनौतीहरूको निरन्तर यात्रा हो ।

कहिले मानिस व्यक्तिगत असफलतासँग लडिरहेको हुन्छ । कहिले गरिबीसँग । कहिले बेरोजगारीसँग । कहिले सामाजिक विभेद र अन्यायसँग । कसैलाई आफ्नो पहिचानका लागि सङ्घर्ष गर्नुपर्छ, कसैलाई सम्मानपूर्वक बाँच्नका लागि । कतिपय मानिस प्राकृतिक विपत्तिसँग जुधिरहेका हुन्छन् भने कतिपय राजनीतिक र सामाजिक सङ्कटसँग । तिमी हार मान्छौ कि सामना गर्छौ ? भनेर हरेक चुनौतीले मानिसलाई एउटा प्रश्न सोध्छ ।

तर चुनौतीको सामना गर्नु भनेको हतारमा निर्णय गर्नु मात्र होइन । यसका लागि साहस चाहिन्छ । तर साहससँगै विवेक पनि चाहिन्छ । दृढता आवश्यक हुन्छ । तर त्यसमा मानवीय संवेदना पनि हुनुपर्छ । इतिहासले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाउँछ । साहस भनेको हतियार उठाउनु मात्र होइन । अन्यायविरुद्ध बोल्नु पनि साहस हो । सत्यको पक्षमा उभिनु पनि साहस हो । कमजोर र सीमान्तकृत मानिसको पक्ष लिनु पनि साहस हो । गलतलाई गलत भन्नु पनि साहस हो । आफ्नो सुविधाभन्दा समाजको हितलाई प्राथमिकता दिनु पनि साहस हो ।

आजको पुस्ताले वासु सरको त्यो भनाइलाई यही अर्थमा बुझ्न आवश्यक छ । चुनौतीसँग जुध्ने हिम्मत हुनुपर्छ, तर त्यो हिम्मतले समाजलाई विनाशतर्फ होइन, निर्माणतर्फ लैजानुपर्छ । परिवर्तनको चाहना हुनुपर्छ, तर त्यो परिवर्तन मानवताको सम्मान गर्ने हुनुपर्छ । वासु र बैरागीको जीवनलाई सम्झँदा मेरो मनमा बैरागीको मित्रताको स्मृति पनि उत्तिकै गहिरो भएर आउँछ ।

मित्रता भनेको सँगै हाँस्नु र रमाइलो गर्नु मात्र होइन । जीवनको एउटा निश्चित समयमा सँगै देखेका सपना, सँगै बाँडेका विचार र सँगै हिँडेका बाटाहरू पनि मित्रताको हिस्सा हुन्छन् । समयले मानिसलाई फरक दिशामा पु¥याउँछ । कोही आफ्नो जीवनको सामान्य यात्रामा अघि बढ्छ, कोही असाधारण निर्णयहरू गर्छ । तर विगतमा सँगै बिताएका क्षणहरू स्मृतिमा सधैँ बाँकी रहन्छन् ।

त्यो समयका युवाहरूले कस्तो नेपाल देखेका थिए होला ? भन्ने आज बैरागीलाई सम्झँदा मनमा प्रश्न आउँछ । उनीहरूले कस्तो परिवर्तनको सपना बोकेका थिए होला ? उनीहरूले आफ्नो भविष्यभन्दा ठूलो ठानेको त्यो सपना कस्तो थियो होला ?

यस्ता प्रश्नहरूको उत्तर इतिहासका पुस्तकले मात्र दिन सक्दैनन् । त्यसका लागि हामीले त्यो समयको पीडा, असमानता, राजनीतिक परिस्थिति र परिवर्तनको आकांक्षालाई बुझ्नुपर्छ । नेपालले लामो राजनीतिक द्वन्द्व भोगेको छ । त्यो द्वन्द्व राजनीतिक घटना मात्र थिएन; त्यो हजारौँ परिवारको पीडा पनि थियो । धेरै मानिसले आफ्नो जीवन गुमाए । धेरै परिवारले आफ्ना प्रियजन गुमाए । कतिपय घरमा आज पनि कसैको सिउदो खाली छ । कतै आमाले छोराको बाटो हेरिरहेकी छन् । कतै बच्चाले कहिल्यै नदेखेको बाबुको नाम मात्र सुनेर हुर्किएको छ ।

बलिदानको पछाडि सधैँ एउटा परिवारको पीडा हुन्छ । एउटा आमाको आँसु हुन्छ । एउटा जीवनसाथीको प्रतीक्षा हुन्छ । एउटा बच्चाको अधुरो भविष्य हुन्छ । सहिदहरूको स्मरण फूलमाला र औपचारिक श्रद्धाञ्जलीमा मात्र सीमित हुनु हुँदैन । उनीहरूले किन सङ्घर्ष गरे ? उनीहरूले के प्रश्न उठाए ? समाजमा कस्ता परिवर्तन चाहेका थिए ? उनीहरूको बलिदानपछि हामीले कस्तो समाज निर्माण ग¥यौँ ? यी प्रश्नहरू सोध्नु नै स्मृतिप्रतिको सच्चा सम्मान हो ।

बलिदानको सबैभन्दा ठूलो सम्मान हिंसाको पुनरावृत्ति गर्नु होइन । बलिदानको सम्मान भनेको हिंसा जन्माउने परिस्थिति अन्त्य गर्नु हो । यदि समाजमा अन्याय उस्तै रह्यो भने, विभेद उस्तै रह्यो भने, गरिबी र अवसरको असमानता उस्तै रह्यो भने र नागरिकको सम्मान तथा अधिकार सुनिश्चित हुन सकेन भने विगतका बलिदानप्रति हाम्रो जिम्मेवारी अधुरै रहन्छ । वासु र बैरागीको स्मृतिले हामीलाई यही गम्भीर प्रश्नतर्फ फर्काउँछ ।

अबको पुस्ताले कस्तो नेपाल निर्माण गर्ने ?
हामीलाई यस्तो नेपाल चाहिन्छ । जहाँ विचारको जवाफ विचारले दिइन्छ । जहाँ असहमतिलाई शत्रु मानिँदैन । जहाँ संवादलाई कमजोरी मानिँदैन । संवादलाई लोकतन्त्रको शक्ति मानिन्छ । देशमा परिवर्तन आवश्यक छ । त्यसका लागि सबैको सहभागिता चाहिन्छ । सामाजिक न्यायलाई महत्व दिनुपर्छ । मानवीय मूल्यलाई पनि प्राथमिकता दिनुपर्छ ।

हामीलाई यस्तो समाज चाहिएको छ, जहाँ शिक्षकले विद्यार्थीलाई परीक्षा उत्तीर्ण गर्न मात्र होइन, प्रश्न गर्न सिकाओस् । युवाले रोजगारी खोज्ने मात्र होइन, समाज परिवर्तनको सकारात्मक नेतृत्व पनि गरोस् । राज्यले नागरिकलाई आफ्नो अधिकार माग्न बाध्य नबनाओस्, बरु सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गरोस् । स्मृति दिवसको वास्तविक अर्थ पनि यही हो ।

अतीतलाई पूजा मात्र गर्नु हुँदैन । अतीतबाट सिक्नुपर्छ । स्मारक बनाएर मात्र पुग्दैन । त्यसको सन्देशलाई जीवनमा उतार्नुपर्छ । फूल चढाएर मात्र हुँदैन ।

उनीहरूले उठाएका प्रश्नको उत्तर खोज्नुपर्छ । वासु र बैरागीको राजनीतिक विचारसँग आज सबै सहमत हुनुपर्छ भन्ने छैन । कसैको सहमति हुन सक्छ । कसैको असहमति हुन सक्छ । यो लोकतान्त्रिक शासन प्रणालीमा सामान्य विषय हुन् । विचार फरक हुन सक्छ । इतिहास बुझ्ने तरिका पनि फरक हुन सक्छ । तर एउटा कुरा स्पष्ट छ । उहाँहरूले आफ्नो समयको परिवर्तनका लागि जीवन समर्पित गर्नुभयो । उहाँहरूको इतिहास बुझ्नु हाम्रो साझा जिम्मेवारी हो । समय बदलिएको छ । चुनौतीहरू पनि बदलिएका छन् ।

आजको पुस्ताले सामना गर्नुपर्ने चुनौतीहरू फरक छन् । गरिबी, बेरोजगारी, आर्थिक असमानता, सामाजिक विभेद, प्रविधिको दुरुपयोग, गलत सूचना, वातावरणीय सङ्कट, मानसिक स्वास्थ्यका चुनौती र लोकतान्त्रिक संस्थाको सुदृढीकरण आजका प्रमुख प्रश्न बनेका छन् ।

वासु र बैरागीलाई सम्झनु भनेको विगतका दुई व्यक्तिलाई मात्र सम्झनु होइन । उहाँहरूलाई सम्झनु भनेको एउटा पुस्ताको सपना सम्झनु पनि हो । एउटा शिक्षकको प्रभाव सम्झनु हो । एउटा मित्रताको स्मृति सम्झनु हो । सङ्घर्ष, त्याग र बलिदानको मूल्य सम्झनु हो । आज उहाँहरू हाम्रो बीचमा हुनुहुन्न । तर केही मानिसहरू शरीरले टाढा भए पनि स्मृतिबाट कहिल्यै टाढा हुँदैनन् । उहाँहरू कहिलेकाहीँ एउटा वाक्य बनेर फर्किन्छन् । कहिलेकाहीँ एउटा सम्झना बनेर आउँछन् । कहिलेकाहीँ जीवनले कठीन घुम्तिमा पु¥याउँदा प्रेरणा बनेर मनमा उभिन्छन् ।

मेरो स्मृतिमा वासु एक शिक्षकका रूपमा जीवित हुनुहुन्छ । मेरो स्मृतिमा बैरागी एक प्रिय मित्रका रूपमा जीवित छन् । र, नेपालको इतिहासमा उहाँहरू सङ्घर्ष, विचार, साहस र बलिदानसँग जोडिएको एउटा पुस्ताको प्रतिनिधिका रूपमा जीवित रहनेछन् । उहाँहरूको सङ्घर्षबाट हामीले न्याय सिक्न सकौँ । उहाँहरूको त्यागबाट जिम्मेवारी सिक्न सकौँ । उहाँहरूको बलिदानबाट शान्तिको मूल्य बुझ्न सकौँ ।

र, उहाँहरूको पुस्ताले भोगेको पीडाबाट सिकेर भविष्यमा कुनै पनि पुस्ताले त्यस्तै पीडा भोग्न नपरोस् भन्ने नेपाल निर्माण गर्न सकौँ । यही नै उहाँहरूप्रतिको सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनेछ । स्मृतिमा वासु र बैरागी विचारप्रतिको प्रतिबद्धता, सङ्घर्षको साहस र बलिदानप्रतिको सम्मान । उहाँहरूको सङ्घर्ष, त्याग र बलिदानप्रति भावपूर्ण श्रद्धाञ्जली ।

प्रतिक्रिया
सम्बन्धित समाचार