काठमाडौँ(जस)–मलेसियाली कम्पनी ‘म्यानफोर्स ग्रुप बर्हाद’ ले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५,६२,००० (पाँच लाख बासठ्ठी हजार रुपैयाँ) सहयोग प्रदान गरेको छ ।
कम्पनीले नेपालमा हालैकाृ प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यका लागि योगदान गरेको हो । कम्पनीले साउन १२, २०८३ (अगस्ट २८, २०२६) मा जारी गरिएको औपचारिक चेक अनुसार यो रकम कोषमा प्रदान गरेको हो ।
मलेसियाको सो कम्पनीले नेपालको इन्टरपिड मेनपावरको पहलमार्फत नेपालमा परोपकारी कार्यका लागि सो रकम सहयोग गरेको हो । इन्टरपिड मेनपावरका अध्यक्ष श्रवण दाहालको समन्यवमा कम्पनीले सो रकम राहत कोषमा प्रदान गरेको हो ।
दाहालले रकम सानो भएपनि आफ्नो पहलमा मलेसियाको कम्पनीले सहयोगका लागि बढाएको हात नेपालीका लागि सदभावका रुपमा बुझ्न सकिने बताए । ‘नेपाल तथा विदेशमा रहेका अन्य मेनपावर कम्पनी र व्यक्तिहरुले विदेशका कमपनीहरुलाई अहिलेको अवस्थाबारे जानकारी गराएर समन्वय गर्न सके विदेशबाट सहयोगका रुपमा ठूलो रकम नेपाल आउन सक्छ । अहिले नेपालमा आइपरेको विपत्तिमा सबैले आ–आफ्नो स्थानबाट पहल गर्न सके पीडितहरुका लागि ठूलो सहयोग हुन सक्छ’, दाहालले भने । दाहालले विदेशका अनय कम्पनीहरुलाई पनि नेपालमा सहयोग गर्न आग्रह गरिरहेको र सोका लागि समन्यव जारी राखेको बताए ।

