काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनले रु. २५ लाख ७९ हजार ३२८ सहयोग गरेको छ ।
एनआरएनए बहराइनले उक्त रकम एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मार्फत बाढीपीडितको सहयोगार्थ प्रदान गरेको हो । सहयोग रकम बाढीबाट प्रभावित परिवारको राहत तथा मानवीय सहायता र आपत्कालीन उद्धार प्रयासमा उपयोग गरिने जनाइएको छ ।
एनआरएनए आईसीसीले सहयोगप्रति आभार व्यक्त गर्दै बाढी तथा प्राकृतिक विपत्तिको समयमा प्रवासी नेपालीबाट प्राप्त सहयोगले पीडितलाई राहत उपलब्ध गराउन तथा मानवीय सहायता अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।
एनआरएनए आईसीसीका अध्यक्ष डा. हेमराज शर्मा र कोषाध्यक्ष कृष्णप्रसाद तिम्सिनाले ९ सेप्टेम्बर २०२६ मा एनआरएनए बहराइनलाई सहयोगका लागि प्रशंसापत्र प्रदान गरेका छन् ।
भोटेकोशी बाढीपछि स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र विभिन्न व्यक्तिहरूले पीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्।