ढाका, २३ भदौ। हालैका दिनहरूमा बङ्गलादेशको राजधानी ढाकामा गोलीकाण्ड, हत्या, लुटपाट र अन्य हिंस्रक अपराधका घटनाहरू ह्वात्तै बढेका छन्।
यसले बिग्रँदो शान्ति-सुरक्षाको अवस्थाप्रति नयाँ चिन्ता जन्माएको छ, किनकि अपराधीहरू सामान्य जस्ता देखिने घटनाहरूमा पनि हिंसामा उत्रिन थालेका छन्।
पछिल्लो घटनामा, हिजो दिउँसो राजधानीको सबुजबगस्थित आदर्शपाडा क्षेत्रको एउटा घरमा स्थानीय अपराधीहरूको समूह प्रवेश गरी २७ वर्षीय एक आप्रवासी युवक सिफत उल्लाहको छुरा प्रहार गरी हत्या गरेका छन्। आफ्नी प्रेमिकालाई भेट्न गएका बेला उक्त समूहले उनलाई जबरजस्ती तल तान्ने प्रयास गर्दा भएको झडपमा आक्रमणकारीहरूले अन्धाधुन्ध प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो। सो घटनामा अन्य दुई जना पनि घाइते भएका छन्।
राजधानीभरि भइरहेका शृङ्खलाबद्ध हिंस्रक घटनाहरूकै बिचमा यो हत्या भएको हो। यसअघि शनि अखडामा पसलभित्रै एक व्यवसायीमाथि गोली प्रहार, दारुस सलाममा घरमै एक महिलामाथि गोली प्रहार र बनानीस्थित विमानस्थल जाने ‘एलिभेटेड एक्सप्रेसवे’ (उचाइमा रहेको द्रुत मार्ग) मा एक अज्ञात व्यक्तिको शव फेला परेका थिए। अर्को घटनामा धनमन्डीमा बैंकबाट ३८ लाख टाका निकालेर जाँदै गरेका एक व्यक्तिलाई मोटरसाइकलमा आएको समूहले लुटपाट गरेको थियो।
अपराध नियन्त्रणका लागि ढाका महानगर प्रहरीले विगत तीन दिनदेखि राजधानीभर विशेष अभियान सञ्चालन गरी १,३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गर्नुका साथै १५० भन्दा बढी मुद्दा दर्ता गरेको छ। अभियानका क्रममा अवैध हातहतियारहरू पनि बरामद गरिएका छन्। यद्यपि, यस्ता कारबाहीहरूका बाबजुद हिंसात्मक घटनाहरू नरोकिँदा सुरक्षा निकायको प्रभावकारितामाथि प्रश्न खडा भएको छ।
ढाका महानगर प्रहरी आयुक्त मोस्लेह उद्दिन अहमदले ‘ढाका ट्रिब्युन’ लाई बताएअनुसार सुरक्षा व्यवस्था कायम राख्न डीबी, सीटीटीसी, गुप्तचर निकाय र सादा पोसाकका प्रहरी टोलीहरू चौबीसै घण्टा खटिरहेका छन्।
उनले सहरमा प्रहरी जाँच चौकी (चेकपोस्ट) को सङ्ख्या ३४ बाट बढाएर ८१ पुर्याइएको जानकारी दिँदै भने, “सहरलाई सुरक्षित राख्न हरसम्भव प्रयास भइरहेको छ। घटनालगत्तै सुरक्षा निकाय परिचालन गर्ने र द्रुत गतिमा अनुसन्धान अघि बढाउने काम भइरहेको छ।”