काठमाडौँ। रियल मड्रिडका फरवार्ड किलियन एम्बाप्पेले पहिलो पटक प्रतिष्ठित ‘बालोन डी’ओर’ उपाधि जित्नका लागि यो वर्ष आफ्नो पक्षमा अनुकूल हुन सक्ने बताएका छन्।
२७ वर्षीय फ्रान्सेली स्टारले गत सिजन आफ्नो क्लबका लागि ४४ खेलमा ४२ गोल गरे पनि टोलीलाई कुनै उपाधि दिलाउन सकेका थिएनन्। यद्यपि, विश्वकपमा १० गोल गर्दै ‘गोल्डेन बुट’ जितेका उनले विश्वकप इतिहासमै आफ्नो कुल गोल संख्या कीर्तिमानी २२ पुर्याएका थिए। उक्त प्रतियोगितामा फ्रान्स चौथो स्थानमा सीमित बनेको थियो।
विश्वकै उत्कृष्ट क्लब रियल मड्रिडबाट खेल्दा मानिसहरूले स्वाभाविक रूपमा बालोन डी’ओरसँग जोडेर हेर्ने उनी बताउँछन्। “धेरै मानिसहरू म र बालोन डी’ओरका बारेमा कुरा गर्छन्। मैले सबैभन्दा महत्त्वपूर्ण प्रतियोगितामा इतिहास रचेको छु, त्यसैले यो वर्ष मेरा लागि राम्रो हुन सक्छ तर पत्रकारहरूले आफ्नो सोचअनुसार मतदान गर्ने हुन्,” एम्बाप्पेले भने।
उनले आफूलाई सधैँ उत्कृष्ट खेलाडी ठान्ने भए पनि अरूको धारणा फरक हुन सक्ने र यसमा बहस गरिरहन आवश्यक नरहेको बताए। यसअघि पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा छँदा सन् २०२३ मा बालोन डी’ओरको वरीयतामा तेस्रो स्थान हासिल गर्नु नै एम्बाप्पेको अहिलेसम्मको उच्च नतिजा हो।
मोनाकोबाट व्यावसायिक खेल जीवन सुरु गरेका फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे पेरिस सेन्ट-जर्मेन (PSG) र फ्रान्सेली राष्ट्रिय टोली दुवैका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनले पीएसजीका लागि ३०८ खेलमा २५६ गोल तथा फ्रान्सका लागि १०६ खेलमा ६६ गोल गरिसकेका छन्।
स्पेनिस क्लब रियल म्याड्रिड पुगेका उनले हालसम्म १०७ खेलमा ९० गोल गरिसकेका छन्। तर, बर्नाबेउमा दुई वर्ष बिताउँदा पनि उनले टोलीलाई कुनै ठूलो उपाधि दिलाउन सकेका छैनन्।
व्यक्तिगत रूपमा भने एमबाप्पेले लगातार आठ पटक लिग ‘गोल्डेन बुट’ जितेका छन्, जसमा फ्रान्सेली लिग वानमा ६ र स्पेनिस ला लिगामा २ पटक समावेश छन्। यसका साथै उनले विश्वकपमा दुई र च्याम्पियन्स लिगमा दुई पटक गोल्डेन बुट हात पारेका छन्। सन् २०१८ मा फ्रान्ससँग विश्वकप जितेका उनले क्लब स्तरमा भने हालसम्म च्याम्पियन्स लिगको उपाधि उचाल्न पाएका छैनन्।
रोचक त के छ भने, एमबाप्पे रहँदा कहिल्यै च्याम्पियन्स लिग नजितेको पीएसजीले उनी बाहिरिएपछिका दुवै सिजनमा यो उपाधि जितेको छ। आफू बिना नै पूर्व क्लबले पाएको सफलताबारे बोल्दै एमबाप्पेले भने, “म यसलाई परिवर्तन गर्न सक्दिनँ। सत्य त के हो भने मलाई यसको खासै वास्ता छैन। मलाई फुटबलको विश्लेषण गर्न आउँछ र यसको कारण पनि थाहा छ। मलाई फुटबलका सबै कुरा थाहा नभए पनि धेरैजसो मानिसभन्दा बढी जानकारी छ।”
रियलले हालैका दिनमा सोचेजस्तो उपाधि जित्न नसकेको विषयमा उनले थपे, “रियल म्याड्रिडको अनुभवले मलाई धेरै लामो समयको योजना नबनाउन सिकाएको छ, किनभने यहाँ धेरै कुरा परिवर्तन हुन सक्छन्। म अहिले कसरी तयार हुने, टोलीलाई जित दिलाउन कसरी मद्दत गर्ने र च्याम्पियन्स लिगको सुरुवात कसरी राम्रो गर्ने भन्नेबारे मात्र सोचिरहेको छु।”
अक्टोबर २६ मा प्रदान गरिने यस अवार्डको दौडमा एम्बाप्पेबाहेक अन्य तीन खेलाडीलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ।
ह्यारी केन: गत सिजन जर्मन क्लब बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गर्दै टोलीलाई ‘डबल’ उपाधि दिलाएका र विश्वकपमा ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई जितको प्रमुख दाबेदार मानिएको छ।
लामिन यामल: बार्सिलोनासँग ला लिगा र स्पेनसँग विश्वकप जितेका युवा स्टार लामिन यामल दोस्रो दाबेदारका रूपमा रहेका छन्।
रोड्री: यामलका क्लब तथा राष्ट्रिय टोलीका सहकर्मी एवं म्यानचेस्टर सिटीका पूर्व खेलाडी रोड्री पनि दाबेदारीको अग्रपंक्तिमा छन्।