पालुङटार, गोरखा । गोसाइँकुण्ड जाने क्रममा बस दुर्घटनामा परी देहावसान भएका तर हालसम्म शव प्राप्त हुन नसकेका पालुङटार क्षेत्रका आठ जनाको हिन्दू संस्कारअनुसार कुशको शव बनाई सामूहिक अन्तिम दाहसंस्कार गरिएको छ।
चेपेघाटस्थित मर्स्याङ्दी नदी र चेपे खोलाको दोभानमा आज आयोजित अन्तिम संस्कार कार्यक्रममा मृतकका आफन्त, स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पालुङटार नगरपालिकाका मेयरसमेत सहभागी भएका थिए।
शव प्राप्त हुन नसकेका कारण हिन्दू धार्मिक परम्पराअनुसार मृतकको प्रतीकका रूपमा कुशबाट शव तयार गरी विधिपूर्वक अन्तिम संस्कार गरिएको हो। आफन्तजनले धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गर्दै मृतकहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए।
अन्तिम संस्कार गरिएका आठ जनाको नामावली
१. दुर्गा देवि देवकोटा
२. तेज कुमारी देवकोटा
३. हरि प्रसाद देवकोटा
४. शारदा देवकोटा
५. सम्झना देवकोटा
६. डिल बहादुर खत्री
७. मुरली खत्री
८. गोमा पपने
आफ्ना आफन्तको वास्तविक शवसमेत प्राप्त गर्न नसकेको अवस्थामा कुशको शव बनाई अन्तिम संस्कार गर्नुपर्दा परिवारजन भावविह्वल बनेका थिए। घटनाले पालुङटार क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ।