शुक्रबार, भाद्र १९ २०८३

शुक्रबार, भाद्र १९ २०८३

विपद्को पीडामा रमदा एन्कोरको मानवीय साथ, प्रधानमन्त्री उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेको विषम परिस्थितिमा रमदा एन्कोर बाई विन्डह्याम काठमाडौं ठमेलले बाढी तथा पहिरो प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिँदै होटलले उक्त रकम सहयोग गरेको हो। विपत्तिका कारण आफ्ना परिवारका सदस्य गुमाएका, घाइते भएका तथा विस्थापित भएका नागरिकप्रति होटलले गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको जनाएको छ।

होटलका अध्यक्ष जगन्नाथ ज्ञवालीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु प्रत्येक व्यक्ति तथा संस्थाको मानवीय दायित्व भएको बताए।

‘प्राकृतिक विपत्तिले सिर्जना गरेको यो कठिन परिस्थितिमा पीडित समुदायलाई सक्दो सहयोग गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो,’ अध्यक्ष ज्ञवालीले भने, ‘दुःखमा परेका नागरिकको पीडामा मलम लगाउन सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्छ।’

उनले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, विपत्तिमा परी ज्यान गुमाएका नागरिकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

होटलका तर्फबाट प्रदान गरिएको ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिएको बैंक भौचरसमेत सार्वजनिक गरिएको छ। सहयोग रकम नबिल बैंकमार्फत कोषको खातामा जम्मा गरिएको हो।

अध्यक्ष ज्ञवालीले विपद्को समयमा सरकार र सम्बन्धित निकायको प्रयाससँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने बताए। विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘दान र सेवा नै मानवताको सबैभन्दा ठूलो धर्म हो,’ ज्ञवालीले भने, ‘विपद्को समयमा हामीले गरेको सहयोग रकमको मात्र कुरा होइन, पीडितलाई हामी उनीहरूको साथमा छौँ भन्ने विश्वास दिलाउनु पनि हो।’

उनले देशमा आइपर्ने प्राकृतिक विपत्तिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै सक्नेले सक्दो सहयोग गर्न र पीडितको दुःखमा साथ दिन अपिल गरेका छन्।

रमदा एन्कोर काठमाडौं ठमेलको यो सहयोगले बाढी तथा पहिरो प्रभावित परिवारको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ। सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै होटलले विपद्को समयमा गरेको यो सहयोगले निजी क्षेत्रबाट मानवीय सेवाका लागि गरिने सहकार्यको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार