काठमाडौं(जस)–प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । विपद्का कारण ठूलो जनधनको क्षति भएको भन्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारलाई सहयोग गरेको हो ।
भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा । अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति थियो । बैंकले विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गरेको छ । साथै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ ।