बुधबार, भाद्र १७ २०८३

बुधबार, भाद्र १७ २०८३

भाद्र १० को विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा

बुधबार, भाद्र १७ २०८३

काठमाडौं । नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले भाद्र १० गते आएको विनाशकारी बाढीपहिरो प्राकृतिक विपत्ति मात्र हो वा मानव सिर्जित दुर्घटना पनि हो भन्ने विषयमा गम्भीर र वस्तुगत विवेचना आवश्यक रहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले भाद्र १० गतेको भयावह घटनाले हजारौँ नागरिकका लागि कालरात्रिको रूप लिएको बताए। उनले विपत्तिको वस्तुगत निष्कर्ष निकाल्न सके मात्रै शोक र पीडालाई शक्तिमा बदल्न तथा आगामी दिनमा यस्ता दुर्घटना रोक्न र त्यसबाट बच्न सकिने धारणा राखे ।

उनले भने, ‘भाद्र १० गतेको त्यो भयानक विहानी कसरी हजारौँ नागरिकहरूको कालरात्री बनेर आयो, यो प्रकृति सिर्जित विध्वंश हो वा मानव निर्मित दुर्घटना । शोक र पीडाको घडीमा यो गम्भीर प्रश्नको वस्तुनिष्ठ विवेचना गर्न अत्यन्त जरुरी छ । यसको वस्तुगत समुचित निष्कर्षबाट नै हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्दछौँ । भावी दुर्घटना रोक्न तथा त्यसबाट बच्न सक्दछौँ ।’

सांसद थापाले जलवायु परिवर्तन र भू–मण्डलीय तापक्रम वृद्धिका कारण मानव जातिको अस्तित्वमै संकट उत्पन्न भइरहेको बताए । विकसित देशहरूले उद्योग, यातायातलगायतका प्रयोजनमा अत्यधिक पेट्रोलियम पदार्थ, कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन हुने र त्यसले वायुमण्डलको तापक्रम अस्वाभाविक रूपमा बढाइरहेको उनको भनाइ छ ।

उनले भने, ‘विज्ञ तथा वैज्ञानिकहरूको निष्कर्षअनुसार जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमा नै संकट पैदा गरेको छ । विकसित देशहरूले उद्योग, यातायात तथा अन्य प्रयोजनको लागि अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ, कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विषाक्त ग्यास उत्सर्जन गर्दछ । फलस्वरूप वायुमण्डलको तापक्रममा अस्वाभाविक वृद्धि हुन जान्छ । तापक्रमको वृद्धिले हिमालको हिउँ पग्लिन्छ । जो भयावह बाढीपहिरोमा परिणत हुन्छ । परिणामतः त्यसले मानव बस्तीको अस्तित्व नै मेटाउँछ ।’

उनले वायुमण्डलको तापक्रम बढेसँगै उत्तरी र दक्षिणी ध्रुवतर्फका हिउँ पग्लिरहेको र यसले समुद्रको जलस्तर बढाउँदै लगेको बताए । समुद्रको जलस्तर बढ्दा समुद्री तटीय मुलुकहरूको अस्तित्व नै लोप हुने खतरा बढिरहेको उनको भनाइ छ ।

सांसद थापाले वन विनाशले समेत जलवायु परिवर्तन तथा भू–मण्डलीय तापक्रम वृद्धिमा नकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।

उनले भने, ‘वायुमण्डलको तापक्रम वृद्धि हुँदा उत्तरी र दक्षिणी ध्रुवतिरका हिउँ पग्लिरहेका छन् । यसले एक प्रकारको सुनामीको सृष्टि गरिरहेको छ । समुद्रको जलस्तरमा वृद्धि हुँदै गएको छ । यसले समुद्र तटीय मुलुकहरूको अस्तित्व नै लोप हुने खतरा बढाएको छ । यसका साथै वन विनाशले पनि जलवायु परिवर्तन तथा भू–मण्डलीय तापक्रम वृद्धिमा उल्लेखनीय नकारात्मक भूमिका निर्वाह गरेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार