सोमबार, भाद्र १५ २०८३

सोमबार, भाद्र १५ २०८३

उद्धार र राहत प्रभावकारी बनाउन कांग्रेसको आग्रह, बाढी प्रभावितका लागिे एक करोड राहत

आइतबार, भाद्र १४ २०८३

काठमाडौं(जस)–नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको पदाधिकारी तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सरकारलाई उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको हो । बैठकमा बाढी प्रभावित क्षेत्रको वस्तुस्थितिबारे विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिका संयोजक एवं रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्य, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वरनरसिंह केसी तथा नुवाकोटका पार्टी सभापति रमेश महतले जानकारी गराएका थिए ।
समितिका सदस्य–सचिव मानबहादुर थापाले पार्टीका तर्फबाट भइरहेको समन्वय, सहजीकरण तथा आगामी तयारीबारे बैठकलाई जानकारी गराएका थिए । बैठकपछि कांग्रेसले संकटको अवस्थामा सरकार, प्रतिपक्षी राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र र नागरिक समुदाय सबैको साझा ध्यान विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने जनाएको छ । कांग्रेसले बाढीका कारण हराइरहेका व्यक्तिको खोजी, जोखिममा रहेकाको तत्काल उद्धार तथा स्थानान्तरण र प्रभावितलाई राहत उपलब्ध गराउन सरकारलाई पुनः आग्रह गरेको छ । नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले गर्ने सकारात्मक प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि कांग्रेसले व्यक्त गरेको छ ।
बाढी प्रभावित क्षेत्रबाट आफन्त हराए पनि खोजी तथा उद्धारमा ढिलाइ भएको, ‘एकद्वार प्रणाली’का नाममा राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको र अति प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको गुनासो आइरहेको कांग्रेसले जनाएको छ । विशेषगरी सुरुङमा अड्किएका व्यक्तिको उद्धारमा भएको ढिलाइप्रति कांग्रेसले चिन्ता व्यक्त गरेको छ । यस्ता संवेदनशील कार्यमा सरकारले प्रतिरक्षात्मक प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुपर्ने कांग्रेसको भनाइ छ ।
कांग्रेसले आवश्यक उपकरण, दक्ष जनशक्ति र प्रविधि तत्काल परिचालन गर्न तथा हवाई उद्धारलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । सुरुङमा उद्धारका लागि आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्रविधि र दक्षतासहितको थप उद्धार टोली ल्याउन तथा आवश्यक परे हेलिकप्टर भाडामा लिएर भए पनि उद्धार कार्य तीव्र बनाउन कांग्रेसले आग्रह गरेको छ ।कांग्रेसले पार्टीका तर्फबाट एकमुष्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । यसरी संकलन भएको रकमसहित कांग्रेसका तर्फबाट एकमुष्ट एक करोड रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन चुनौतीपूर्ण
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन् । कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापन गर्दा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको विषयसमेत उठिरहेको बताए । ‘फेला परेका शवबाट दुर्गन्ध निस्केर भयावह अवस्था सिर्जना भएको छ । शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइकन व्यवस्थापन गरिरहेको कुरा गम्भीरतापूर्वक उठिरहेको छ,’ उनले भने, ‘भोटेकोशी र त्रिशूली क्षेत्रको दुर्गन्ध हाम्रो लागि विशेषगरी ठूलो चुनौती हो ।’
यस विषयमा आफूले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको उनले बताए । प्रधानमन्त्रीसँग शनिबार भेट भइसकेपछि स्थानीय तहका नेता तथा कार्यकर्तासँग फोनमार्फत प्राप्त जानकारीका आधारमा नौबुँदे ध्यानाकर्षण गराएको आङ्देम्बेले बताए । प्रभावित क्षेत्रहरूमा तत्काल हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्नेमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाइ छ । उनले भने,‘हिजो मेरो प्रधानमन्त्रीसँग भेटभैइसके पछाडि मैले ९ बुँदामा ध्यानाकर्षण गराएको छु । त्यो बुँदाहरु स्थानीय तहका नेता साथिहरु, फोन मार्फत पनि कुरा भएका आधारमा कोड गरेर मैले ९ वटा बुँदाहरु समेटेको छु । जहाँ जहाँ प्रभावित स्थहरु छन् त्यसमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै तत्कालको लागि हवाई उद्धारलाई थप प्रभावकारी बनाउने कुरामा ध्यानाकर्षण गराएको छु ।’ आङ्देम्बेले विपद्को समयमा नेपाली कांग्रेसले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । बाढीपीडितका बीचमा पार्टीको झण्डा बोकेरभन्दा विशुद्ध सेवाको भावनासहित पुग्नुपर्ने उनले बताए । ‘यस्तो बेला पार्टीको झण्डा बोकेर बाढीपीडितको ठाउँमा नगई विशुद्ध सेवाको रूपमा हामी अगाडि जानुपर्छ । सेवा देखेपछि मान्छेले आफैं पार्टी चिन्छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार