सोमबार, भाद्र १५ २०८३

सोमबार, भाद्र १५ २०८३

बाढीपीडितको उद्धार र राहतमा रास्वपा, पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटिन निर्देशन

आइतबार, भाद्र १४ २०८३

काठमाडौँ(जस)–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति रवि लामिछानेको निर्देशनअनुसार केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्मका पार्टी पंक्ति प्रभावित क्षेत्रमा खटिएको बताए । उनले भने,‘भोटेकोशी बाढी र त्यसको प्रभावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण ध्यान खोजी, उद्धार र राहतमा केन्द्रित भएको छ । केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म रहेका नेतृत्व र कार्यकर्तालाई सभापति रवि लामिछानेले सम्पूर्ण रूपमा खोजी, उद्धार र राहतमा केन्द्रित भएर सरकारलाई सहयोग गर्ने, राजनीतिक समन्वय गर्ने र समुदायसँग सहकार्य गरेर प्रभावितहरूलाई सहयोग गर्ने स्पष्ट निर्देशन दिएका थिए ।’
खरेलका अनुसार सोही निर्देशनअनुसार रास्वपाका नेता तथा कार्यकर्ता २४सै घण्टा खोजी, उद्धार र राहतमा खटिएका छन्। सभापति लामिछानेले पार्टी कार्यालयमा गठन गरिएको टास्क फोर्समार्फत अहिलेसम्म भएका कामको नियमित जानकारीसमेत लिइरहेका छन् । ‘आइतबार पनि सभापतिज्यू बिहानदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा हुनुहुन्छ । यहाँ एउटा टास्क फोर्स बनेको छ र उनले कामको ब्रिफिङ लिनुभएको छ । सुरक्षा निकायबाट भइरहेको खोजी, उद्धार र राहतको काममा पार्टी पंक्ति कसरी लागिरहेको छ भन्ने विषयमा पनि उनले जानकारी लिनुभएको छ’उनले भने ।
उनले सभापति लामिछानेले प्रभावित पालिकाका प्रमुख तथा मेयरसँग टेलिफोन संवाद गरी स्थानीय समस्याबारे जानकारी लिएको बताए । पालिका प्रमुखहरूले विशेषगरी शव व्यवस्थापनलाई तत्कालको प्रमुख समस्या भएको जानकारी दिएको खरेलले बताए ।
‘अहिले सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील समस्या शवको व्यवस्थापन कसरी गर्ने भन्ने भएको छ । उत्तरगयादेखि चितवनको कालिका नगरपालिकासम्मका प्रमुखहरूले पनि यत्रो दिन भइसक्यो, अब शव गनाउन सक्छ भन्ने चिन्ता व्यक्त गरेका छन््’उनले भने । त्यसैगरी सञ्चार तथा विद्युत् सेवा, सडक, बेलीब्रिज तथा झोलुङ्गे पुलको अवस्था र राहत सामग्रीको अभावबारे समेत स्थानीय तहका प्रमुखहरूले जानकारी गराएको उनले बताए । खरेलले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । जलवायु परिवर्तन तथा हिमताल विस्फोटको जोखिमबारे बोल्दै खरेलले भोटेकोशी बाढीलाई नेपालका लागि ठूलो चेतावनीका रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार