शुक्रबार, भाद्र १२ २०८३

शुक्रबार, भाद्र १२ २०८३

राहतसहित पुगे रास्वपा प्रमुख सचेतक बुर्लाकोटी, उद्धारलाई प्रभावकारी बनाउनेबारे छलफल

शुक्रबार, भाद्र १२ २०८३

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी राहत सामग्रीसहित नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको सैनिक तालिम केन्द्र पुग्नुभएको छ। सञ्चारमन्त्री डा.विक्रम तिमल्सिना सहित त्यहाँ पुग्नुभएका बुर्लाकोटीले उद्धार तथा राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै आगामी कार्ययोजनाबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुभएको हो।
प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने, उनीहरूको अभिलेख व्यवस्थित गर्ने तथा आवश्यकताअनुसार उपचार, खाना र अस्थायी बसोबासको प्रबन्ध मिलाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। उद्धार कार्यमा संलग्न सुरक्षा निकाय, सरकारी अधिकारी तथा अन्य सरोकारवाला व्यक्तिहरूले उपलब्ध जनशक्ति र स्रोतसाधनलाई समन्वयात्मक रूपमा परिचालन गर्ने विषयमा पनि समीक्षा गरेका छन्।
प्राप्त प्रारम्भिक विवरणअनुसार आज बिहानदेखि साँझसम्म हेलिकप्टरमार्फत करिब एक हजार पाँच सय जनाको उद्धार गरिएको छ। विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका व्यक्तिहरूलाई त्रिशूलीमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ। त्यहाँ उनीहरूको विवरण संकलन गर्नुका साथै स्वास्थ्य अवस्था परीक्षण र तत्काल आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको छ।
बुर्लाकोटीले विपद्को समयमा उद्धारसँगै राहत वितरणलाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ। प्रभावित नागरिकसम्म अत्यावश्यक सामग्री समयमै पुर्‍याउन र उद्धारपछि पनि उनीहरूको स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
छलफलमा भोलिको उद्धार अभियानलाई अझ प्रभावकारी बनाउने, प्राथमिकताका आधारमा जोखिममा परेका नागरिकको पहिचान गर्ने तथा हेलिकप्टर उडान र स्थलमार्गबाट हुने राहत परिचालनलाई व्यवस्थित गर्ने विषयमा कार्ययोजना बनाइएको छ। प्रतिकूल मौसम, भौगोलिक कठिनाइ र सीमित स्रोतसाधनबीच पनि उद्धार कार्यलाई निरन्तरता दिने तयारी भइरहेको सम्बन्धित पक्षले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार