भक्तपुर,भक्तपुरको पहिचान बोकेको मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै यचु बुटिक होटलले साप्ताहिक सांस्कृतिक कार्यक्रम पनि सुरु गरेको छ । होटलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई भक्तपुरको जीवन्त संस्कृति प्रत्यक्ष रूपमा अनुभव गराउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमले होटलको आतिथ्य सेवासँगै स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
होटलले अब प्रत्येक शनिबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नेछ। कार्यक्रममा भक्तपुरको मौलिक पहिचान झल्काउने विभिन्न परम्परागत नृत्य, सांस्कृतिक प्रस्तुति तथा स्थानीय कला प्रदर्शन गरिनेछ ।
कार्यक्रमको पहिलो दिन लाखे, कुमारी, मञ्जुश्री तथा भैरव-काली
लगायतका परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए। मौलिक भेषभूषा, परम्परागत बाजागाजा र नृत्य प्रस्तुतिमार्फत कलाकारहरूले भक्तपुरको जीवन्त कला, संस्कृति र परम्परालाई दर्शकमाझ प्रस्तुत गरेका थिए।
संस्कृति र पर्यटनलाई एउटै सूत्रमा जोड्ने होटलको यो प्रयासले नेपाल र भक्तपुर भ्रमणमा आउने पर्यटकलाई यहाँको ऐतिहासिक सम्पदा अवलोकनसँगै स्थानीय सांस्कृतिक जीवनको प्रत्यक्ष अनुभव गर्ने अवसरसमेत प्रदान गर्नेछ । उक्त कार्यक्रमका बारेमा प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठले भक्तपुर सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले मुलुककै विशिष्ट क्षेत्र भएको बताउनुभयो। उहाँले भक्तपुरलाई ‘जीवित सम्पदा’का रूपमा व्याख्या गर्दै यहाँका कला, संस्कृति, वास्तुकला र परम्परा आज पनि जीवन्त रूपमा देख्न र अनुभव गर्न सकिने उल्लेख गर्नुभयो।
भक्तपुरको संस्कृति संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताउँदै श्रेष्ठले यचु बुटिक होटलले पर्यटन व्यवसायसँगै स्थानीय संस्कृति संरक्षण र प्रदर्शनका लागि थालेको पहल प्रशंसनीय रहेको बताउनुभयो।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि राज्य, स्थानीय समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
कार्यक्रममा होटल व्यवसायी संघकी पहिलो महिला अध्यक्ष रोशनी मैया धौबञ्जारले होटल व्यवसायलाई स्थानीय कला, संस्कृति र परम्परासँग जोडेर अघि बढाउन सके पर्यटनको आकर्षण थप बढ्ने बताउनुभयो। पर्यटकलाई केवल सेवा दिनेभन्दा उनीहरूलाई गन्तव्यको मौलिक पहिचानसँग जोड्ने यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो।
कार्यक्रमको बारेमा होटलका तर्फबाट मनीषा उप्रेतीले भक्तपुरको मौलिक संस्कृति तथा सांस्कृतिक सम्पदालाई होटलका गतिविधिसँग जोड्दै त्यसको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताउनुभयो।
पर्यटनलाई व्यवसाय मात्र होइन, पहिचानसँग जोड्ने प्रयास- संचालक बालकृष्ण खड्का
येचु बुटिक होटलको सांस्कृतिक कार्यक्रमलाई होटल व्यवसायको सामान्य गतिविधिभन्दा फरक ढंगले हेरिएको छ। पर्यटन व्यवसायलाई स्थानीय कला, संस्कृति र सम्पदासँग जोडेर पर्यटकलाई ‘बसाइ’सँगै ‘अनुभव’ प्रदान गर्ने उद्देश्य होटलले लिएको छ।
होटलका सञ्चालक पर्यटन ब्याबसायी बालकृष्ण खड्का पर्यटन क्षेत्रलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिनुहुन्छ। विभिन्न क्षेत्रमा व्यवसायिक अनुभव हासिल गरेका खड्काले पर्यटन क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गर्दै ट्राभल्स, ट्रेकिङ, टुर तथा होटल व्यवसायलाई एकीकृत रूपमा अघि बढाइरहनुभएको छ।
नेपालमा पर्यटनको सम्भावना अझै व्यापक रहेको बताउँदै खड्काले प्राकृतिक सौन्दर्यसँगै नेपालको मौलिक कला, संस्कृति, परम्परा र सम्पदा पर्यटनका महत्वपूर्ण आधार भएको बताउनुभयो।
“नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण आधार हो। हामीसँग विश्वलाई आकर्षित गर्न सक्ने प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा छन्। त्यसैले पर्यटनलाई व्यवसायसँगै नेपालको पहिचान र संस्कृतिसँग जोडेर अघि बढाउनुपर्छ,” खड्काले भन्नुभयो।
उहाँका अनुसार यचु बुटिक होटललाई केवल आवास तथा आतिथ्य सेवामा सीमित नराखी नेपालको संस्कृति, परम्परा र स्थानीय जीवनशैली अनुभव गर्न सकिने गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ।
“भक्तपुर आउनुहुने नेपाली तथा विदेशी पर्यटकलाई एकपटक येचु बुटिक होटलमा आएर यहाँको आतिथ्य र सांस्कृतिक कार्यक्रम अनुभव गर्न आग्रह गर्दछु,” खड्काले भन्नुभयो।
पर्यटनको बदलिँदो प्रवृत्तिमा पर्यटकहरू केवल होटलको सुविधा र आराममा सीमित रहन चाहँदैनन्। उनीहरू गन्तव्यको मौलिक संस्कृति, खानपान, कला, वास्तुकला, परम्परा र स्थानीय जीवनशैलीलाई नजिकबाट अनुभव गर्न चाहन्छन्। यही आवश्यकतालाई ध्यानमा राखेर येचु बुटिक होटलले आफ्नो व्यवसायलाई भक्तपुरको सांस्कृतिक पहिचानसँग जोड्न खोजेको देखिन्छ।
भक्तपुरका मौलिक नृत्य, परम्परागत भेषभूषा, बाजागाजा र सांस्कृतिक प्रस्तुतिलाई होटल परिसरमै नियमित रूपमा प्रस्तुत गरिनुले यहाँ आउने पर्यटकलाई भक्तपुरको सांस्कृतिक जीवनसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना गर्नेछ।
खड्काका अनुसार प्रत्येक शनिबार दिउँसो ३ देखि ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा भक्तपुरका विभिन्न मौलिक तथा परम्परागत सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ।
पर्यटन, संस्कृति र आतिथ्यलाई एउटै गन्तव्यमा जोड्ने योजनासहित अघि बढेको येचु बुटिक होटल भक्तपुरमा ‘बस्ने होटल’ मात्र नभई ‘भक्तपुरको संस्कृति अनुभव गर्ने गन्तव्य’का रूपमा आफ्नो पहिचान स्थापित गर्ने दिशामा अघि बढेको छ।
स्थानीय कला र संस्कृतिको संरक्षणसँगै पर्यटक आकर्षण तथा होटल व्यवसायको प्रवर्द्धनलाई एकसाथ अघि बढाउने यो पहलले येचु बुटिक होटललाई भक्तपुरको पर्यटन बजारमा फरक र आकर्षक पहिचान बनाउन सहयोग पुर्याउने देखिन्छ।