काठमाडौं(जस)–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका छन् । रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बुधबारको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको बताए ।
उनले भने, ‘आज यो हाम्रो छलफल हो, संसदीय दलको बैठक होइन । राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कुनै न कुनै विषयमा कसैको कुरा बोल्दा चिप्लिन सक्ला । धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ । त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ, त्यस्तो केही छैन ।’ लामिछानेले संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र छलफल गरिएको बताए । संसदमा प्रस्तुत हुने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले पार्टीभित्र समीक्षा आवश्यक भएको उनको भनाइ थियो ।
उनका अनुसार सरकार, मन्त्रालय र मन्त्रीहरूका विषयमा पार्टी पंक्तिभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्नेबारे पनि आन्तरिक छलफल गरिएको थियो । ‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ । त्यसअर्थमा संसदमा मर्यादित ढंगले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषय हुनेलगायत सबै कुरामा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्यौं ,’ उनले भने ।
लामिछानेले प्रधानमन्त्री बालेन साहसँग सम्बन्ध बिग्रिएको चर्चालाई खारेज गर । सभापति लामिछानेले आफूहरुबीच कुनै दरार नभएको बताएका हुन् । उनले पार्टीमा कुनै धार नभएको बताए । उनले भने,‘हामीमा कुनै समस्या छैन । जनताको म्यान्डेटमा स्पष्ट छौँ । हाम्रो पार्टीमा कुनै धार छैन । धार छ भन्ने कुरालाई खारेज गर्दिनुस् ।’ प्रधानमन्त्रीले एक्लै लडिरहेको भनेर लेखेको स्टाटसबारे पनि पत्रकारले सोधेका थिए । लामिछानेले त्यस स्टाटसमा प्रधानमन्त्रीको कवि भावना पोखिएको टिप्पणी गरे ।
उनले भने,‘दुईजनाबीच झगडा प¥यो भनेर लेख्नुहुन्छ हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला, प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो । यत्रो भीडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन । यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’ उनले आफूहरुले राजनीतिक सुझबुझका साथ काम गरिरहेको बताए ।
सांसदहरुलाई संयमित भएर संसदमा प्रस्तुत हुने निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरुलाई संयमित भएर संसदमा प्रस्तुत हुन निर्देशन दिए । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले सांसदहरुलाई आवेगमा नआई संयमितरुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । सांसदहरुले सरकारका मन्त्रीप्रति असन्तुष्टि जनाउँदै सदनमा आक्रोश व्यक्त गर्न थालेपछि सभापति लामिछानेले मन्त्रीहरुसमेतलाई बोलाएर छलफल गरेका हुन् ।
त्यस्तै बैठकमा गृहमन्त्री सुदन गुरुङले पार्टीभित्रको असन्तुष्टि सदनमा नलैजान आग्रह गरेका छन् । पार्टीभित्रका असन्तुष्टि संसदमा पुर्याउँदा विपक्षी दलहरू बलियो हुने भन्दै उनले यस्तो बताएका हुन् । बैठकमा गृहमन्त्रीले घर झगडा घरमै मिलाउनुपर्नेमा जोड दिएका थिए । सांसदहरुले सरकारका मन्त्रीप्रति असन्तुष्टि जनाउँदै सदनमा आक्रोश व्यक्त गर्न थालेपछि सभापति लामिछानेले बैठक बोलाएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति चित्त नबुझेको भन्दै मंगलबार सांसद आशिका तामाङ बैठक छाडेर निस्किएकी थिइन् । त्यस्तै रास्वपाकै अन्य सांसदले पनि मन्त्रीको आलोचना गर्दै आएका छन् ।
‘मलाई होइन,मेरो पिएलाई गुनासो टिपाउनु होला’
गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन सुझाव दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको सामुहिक छलफल कार्यक्रममा मन्त्री गुरूङले आफ्नो पिएलाई गुनासो गर्न सुझाव दिएका हुन् ।
‘सांसदहरूले गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नु होला,’ उनले बैठकमा भने । गृहमन्त्री गुरुङले पार्टीका सांसदहरूलाई संसद्मा सरकारको विरोध नगर्न पनि आग्रह गरेका छन् । उनको तर्क थियो, ‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं, विपक्ष बलियो हुन थाल्यो ।’ मन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउन पनि सांसदहरूलाई आग्रह गरेका थिए । उनले बैठकमा नै स्वकीय सचिव कार्कीको नयाँ नम्बर पनि साझा गरेका छन् ।