काठमाडौं(जस)–काठमाडौंमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण गरिएको छ । शुक्रबार भेलाका रुपमा उद्घाटन गरिएको कार्यक्रमलाई शनिबार ‘सम्मेलन’को रुप दिइएको हो । सम्मेलनमा शनिबार विभिन्न प्रस्तावहरुमाथि छलफल भएको छ । बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरूमाथि प्रदेशगत रुपमा छलफल गरिएको छ ।
सम्मेलनमा नेता डा.प्रकाशशरण महतले कांग्रेसको आर्थिक तथा सामाजिक नीति सम्बन्धी प्रतिवेदन, नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, नेता रमेश लेखकले ‘कानुन तथा विधान समिति’मार्फत ‘विधान संशोधन अवधारणा पत्र’, उमाकान्त चौधरीले सांगठनिक प्रतिवेदन, नेता एनपी साउदले समसामयिक विषयलगायतका प्रस्तावमाथि छलफल भएको छ । देशभरबाट आएका करिब ३५ सय प्रतिनिधिहरुले प्रश्तुत प्रतिवेदनमाथि विभिन्न समूहमा विभाजन भएर छलफल गरेका छन् । सम्मेलनमार्फत १५ औँ महाधिवेशनको तयारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयले आयोजना गर्ने विषयलाई प्राथमिकता दिएका छन् ।
शनिबार बोल्ने अधिकांश नेताहरुले पार्टी एकतामा जोड दिंदै सर्वोच्च अदालतको आदेश अनुसार अघि बढ्ने प्रतिक्रिया दिए । तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताउँदै अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसबारेमा आफूले धेरै नबोल्ने पनि जानकारी दिए । सम्मेलनका बारेमा जानकारी दिंदै नेता मीन विश्वकर्माले भेलालाई सम्मेलनका रुपमा रुपान्तरण गरिएको जानकारी दिंदै विधान संशोधनका विषयमा पनि बृहत छलफल भइरहेको बताए ।
उनले भने, ‘विधानमा दफावार संशोधन नगरेर सैद्धान्तिक सहमतिको कुरा गरिराखेका छौं । विधानमा केही भाष अस्पष्टता भएका कारणले कार्यान्वयन गर्न अप्ठ्यारो परेको छ । सबै तहको कार्य समितिहरुलाई चुस्त र समावेशी बनाउने प्रयासमा छौं । युवाहरुको सहभागिता बढाउनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छौं ।’ अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकाले महाधिवेशनको मिति भने अहिले नतोक्ने जानकारी दिए । ‘हामी १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने प्रयास गरिरहेका छौं । मुद्दा विचाराधिन अवस्थामा रहेकाले मिति चाहीं अहिले नै नतोक्ने भनेका छौं तर सानेपामा रहेका साथीहरु कुनै चामत्कारिक निर्णय लिएर आउनुभयो भने सोही अनुसार अघि बढ्छौं,’ उनले भने ।
विभिन्न पाँच प्रतिवेदनमाथि छलफल
नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ । शुक्रबारदेखि यहाँ सुरु भएको तीनदिने भेलामा शनिबार शीर्ष नेताहरू विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । नेता निधिले आज आफ्नो प्रतिवेदन पेस गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गरेका थिए । प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको थियो । प्रदेशगत धारणा र प्रस्तुति जारी रहेकाले बाँकी भोलिको सम्मेलनमा छलफल हुने र भोलि नै समापन हुने तालिका रहेको छ ।
पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा भएको भेलाको शुक्रबार निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचार सकेर पाँच महिनापछि बिहीबार मात्रै स्वदेश फर्किएका थिए । कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्ममा भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो । आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वाेच्च अदालत पुगेको थियो । सर्वाेच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनःसुनुवाइ गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।
कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन ः विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमल नरहेको बताएका छन् । शनिबार दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिता २०८३ मा सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही ठहर गरेको अवस्थामा यसबारे अन्योलमा पर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
उनले विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको र उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर नगरेको उल्लेख गरे । ‘नेपाली कांग्रेसको सभापति को हो भनेर अलमलिनुपर्ने अवस्था छैन,’ शर्माले भने, ‘आवेगमा आएर यता नेमप्लेट राख्ने, उता नेमप्लेट राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम र विधिभन्दा बाहिरको कुरा हो ।’
उनले खेलको मैदानमा नियम उल्लंघन हुँदा पहेँलो र रातो कार्ड देखाइने उदाहरण दिँदै राजनीतिमा पनि विधि र नियमको पालना हुनुपर्ने बताए । ‘खेलको मैदानमा जब कसैले गल्ती गर्छ, पहेँलो कार्ड देखाइन्छ । फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ । खेलमा एउटा विधि हुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसको पनि एउटा विधि छ । जसमा महाधिवेशन भयो । विशेष महाधिवेशन पालना गरेर सभापति गगन थापा हुनुभयो ।’ शर्माले राजनीतिलाई पनि खेलको नियमअनुसार सञ्चालन गर्न आग्रह गर्दै विधिभित्र रहेर राजनीतिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।