काठमाडौं(जस)–नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब २०० डिलर तथा च्यानल पार्टनरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रत्येक वर्ष आयोजना हुने यस कार्यक्रमको उद्देश्य कम्पनी र डिलर नेटवर्कबीचको सहकार्यलाई थप सुदृढ बनाउनु, साझेदारीको सम्मान गर्नु तथा आगामी रणनीतिबारे जानकारी आदानप्रदान गर्नु हो ।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्राको समीक्षा गरिएको थियो । कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, प्रमुख उपलब्धि तथा आगामी रणनीतिबारे प्रस्तुति दिइएको कम्पनीले जनाएको छ । साथै अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादनमार्फत बजारमा प्रतिस्पर्धी बन्ने प्रतिबद्धता पनि दोहो¥याइएको थियो । डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ । ‘राइजिङ स्टार’, ‘पेमेंट एक्सिलेन्स’ र ‘लिट्मस एक्सिलेन्स अवार्ड’ लगायतका विधामा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले गुणस्तर कम्पनीको प्रमुख प्राथमिकता मात्र नभई ब्रान्डको पहिचान र ग्राहकप्रतिको प्रतिबद्धता भएको बताए । उनले देशभर फैलिएको डिलर नेटवर्कको विस्तारप्रति कम्पनी गौरवान्वित रहेको उल्लेख गर्दै डिलरहरूको विश्वास र सहकार्यले नयाँ प्रविधि अपनाउन, उच्च उत्पादन मापदण्ड कायम गर्न तथा नेपालको पूर्वाधार विकासमा योगदान पु¥याउन प्रेरणा मिलेको बताए । कम्पनीका अनुसार यसको सफलताको आधार दीर्घकालीन साझेदारी र विश्वासमा आधारित सम्बन्ध हो । ‘पावर पार्टनर्स मिट २०८३’ ले साझा मूल्य सिर्जना, नवप्रवर्तनको प्रवद्र्धन तथा नेपालको विद्युत् र पूर्वाधार क्षेत्रको दिगो विकासमा कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ ।
लिट्मस इन्डस्ट्रिज नेपालकै ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी भएको दाबी गर्दै कम्पनीले नेपालमै एल्युमिनियम तथा एलोय रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा पनि आफूलाई स्थापित गरेको जनाएको छ । पाँच दशकभन्दा लामो उत्पादन अनुभवका साथ कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउँदै आएको र आधुनिक प्रविधि तथा गुणस्तर मापदण्डलाई प्राथमिकतामा राखेर आन्तरिक बजारसँगै क्षेत्रीय निर्यात बजारमा पनि उपस्थिति विस्तार गर्दै आएको जनाएको छ ।