सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

थाई नेपाली संघद्वारा भव्य म्याराथन सम्पन्न, ३०० भन्दा बढी धावकको उत्साहजनक सहभागिता

सोमबार, साउन १८ २०८३

थाइल्याण्ड,थाइल्याण्डमा रहेका नेपाली भासी अर्थात पिएनओ समुदायबीच स्वास्थ्य, खेल संस्कृतिको विकास, आपसी सद्भाव र सामाजिक एकतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ थाई नेपाली संघ केन्द्रीय खेलकुद विभाग र थाई नेपाली संघ कसमोई शाखाको संयुक्त आयोजनामा कसमोईमा भव्य म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
कसमोईको मनमोहक प्राकृतिक सौन्दर्यबीच आयोजित उक्त प्रतियोगितामा ३०० भन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा थाइल्याण्डमा बसोबास गर्ने पिएनओ समुदायका सदस्यहरूसँगै विभिन्न देशका धावक, स्थानीय खेलप्रेमी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा विभिन्न उमेर समूहका सहभागीहरूले निर्धारित दूरी सफलतापूर्वक पूरा गर्दै खेलभावना, अनुशासन, स्वस्थ जीवनशैली तथा सकारात्मक सामाजिक सन्देश प्रवाह गरेका थिए। उद्घाटन समारोहमा आयोजकहरूले खेलकुदले विदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउनुका साथै नेपालको सकारात्मक पहिचान अन्तर्राष्ट्रिय समुदायमाझ स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई पदक, ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। सहभागीहरूले कसमोईको मनमोहक प्राकृतिक वातावरणबीच दौडिन पाउँदा अविस्मरणीय अनुभव भएको प्रतिक्रिया दिएका थिए। उनीहरूका अनुसार यस्ता प्रतियोगिताले स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै नेपाली समुदायबीच भाइचारा, सम्बन्ध विस्तार र सामाजिक एकतालाई थप मजबुत बनाउने अवसर प्रदान गर्दछ।
थाई नेपाली संघले विगतदेखि नै सामाजिक, सांस्कृतिक, शैक्षिक, परोपकारी तथा खेलकुदसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। विदेशमा रहेका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने, नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र मौलिक पहिचानसँग जोड्ने तथा समुदायको साझा हितका लागि रचनात्मक गतिविधि सञ्चालन गर्ने उद्देश्यका साथ संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार