शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

अन्तर्राष्ट्रिय युवा दिवस सातै प्रदेशमा भव्य रूपमा मनाउँदै रास्वपा, संयोजकमा सांसद कविन्द्र बुर्लाकोटी

शनिबार, साउन १६ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यो वर्षको अन्तराष्ट्रिय युवा दिवस देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ। यही अगस्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्य रूपमा मनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलका प्रमुख सचेतक तथा सांसद कविन्द्र बुर्लाकोटीलाई मूल समारोह समितिको संयोजक तोकेको छ।

दिवसलाई देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमसहित मनाउने तयारी गरिएको र त्यसका लागि पार्टीले प्रदेश समितिहरूलाई आवश्यक निर्देशन तथा पत्राचारसमेत गरिसकेको जनाएको छ। युवा सहभागिता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर अन्तरक्रिया, विचार गोष्ठी, प्रेरणादायी संवाद, स्वयंसेवा अभियान तथा अन्य सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिने तयारी भइरहेको छ।

नेपालमा अन्तर्राष्ट्रिय युवा दिवसलाई प्रभावकारी र अर्थपूर्ण रूपमा मनाउन आवश्यक तयारी तीव्र पारिएको संयोजक बुर्लाकोटीले बताउनुभएको छ। उहाँका अनुसार युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्रिय विकाससँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिनेछ। साथै, युवाका आवाजलाई नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्‍याउने विषयमा विशेष जोड दिइने उहाँको भनाइ छ।

यस वर्ष “फरक परिवेश, साझा आकांक्षा” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको यस विषयले विभिन्न देश, संस्कृति र परिस्थितिमा रहेका युवाहरूका चुनौती फरक भए पनि गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, राम्रो स्वास्थ्य, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र उज्ज्वल भविष्यप्रतिको उनीहरूको साझा आकांक्षालाई उजागर गर्ने सन्देश दिएको छ।

रास्वपाले यस अवसरलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई युवाका विचार, नवप्रवर्तन र नेतृत्व क्षमतालाई प्रोत्साहन गर्ने अभियानका रूपमा अघि बढाउने जनाएको छ। पार्टीका अनुसार प्रदेश तथा स्थानीय तहसम्म युवाहरूको सक्रिय सहभागितामा सञ्चालन हुने कार्यक्रमहरूले समसामयिक राष्ट्रिय मुद्दा, उद्यमशीलता, सुशासन, शिक्षा, रोजगारी र सामाजिक उत्तरदायित्वका विषयमा खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

पार्टीले अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाहरूबीच सकारात्मक ऊर्जा, सामाजिक एकता र राष्ट्र निर्माणप्रतिको साझा प्रतिबद्धता अभिवृद्धि गर्ने अवसरका रूपमा लिएको जनाएको छ। देशभर आयोजना हुने कार्यक्रममार्फत युवाहरूलाई लोकतान्त्रिक अभ्यास, नीति निर्माण तथा सामाजिक रूपान्तरणमा थप सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने लक्ष्य राखिएको रास्वपाले उल्लेख गरेको छ।

आयोजक समितिमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मन्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायत रहेका छन्। साथै प्रदेशका सभापतिहरू आयोजक समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार