काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको ‘चौथो विश्व नेपाली ज्ञान सम्मेलन २०२७’ को तयारीलाई तीव्र बनाएको छ। नेपाल सरकारको सहकार्यमा आयोजना हुन लागेको सम्मेलनलाई सफल बनाउन संघको उच्चस्तरीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाल तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग छुट्टाछुट्टै भेट गरी सम्मेलनको अवधारणापत्र (Concept Paper) प्रस्तुत गरेको छ। भेटवार्तामा सरकारले सम्मेलनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संघका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा भएको प्रतिनिधिमण्डलमा उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुणाल मिश्र सहभागी थिए।
प्रतिनिधिमण्डलले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न पेशामा आबद्ध नेपालीहरूको ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको विकास र समृद्धिका राष्ट्रिय प्राथमिकतासँग जोड्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको थियो। सम्मेलनलाई औपचारिक छलफलमा मात्र सीमित नराखी सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र तथा विश्वभरका नेपाली विज्ञहरूबीच दीर्घकालीन र परिणाममुखी सहकार्यको प्रभावकारी मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको डा. रेग्मीले बताउनुभयो।
परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०१८ मा सम्पन्न पहिलो विश्व नेपाली ज्ञान सम्मेलनमा आफू सहभागी भएको स्मरण गर्दै यस्ता सम्मेलनले विश्वभर रहेका नेपाली विज्ञहरूलाई मातृभूमिको विकाससँग जोड्ने प्रभावकारी माध्यम बनेको उल्लेख गर्नुभयो। उहाँले चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ लाई सफल बनाउन नेपाल सरकार आवश्यक सबै प्रकारको सहकार्य गर्न तयार रहेको स्पष्ट पार्दै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको समृद्धिका लागि उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
भेटका क्रममा उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकता ऐन कार्यान्वयनमा देखिएका कानुनी तथा व्यावहारिक समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि सरकारको पहल आवश्यक रहेको धारणा राख्नुभयो। त्यसको जवाफमा मन्त्री खनालले गैरआवासीय नेपालीसँग सम्बन्धित सम्पत्ति, लगानी र भिसा व्यवस्थालाई थप सहज बनाउन आवश्यक कानुनी संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसले गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी र आर्थिक गतिविधि विस्तार गर्न थप अनुकूल वातावरण सिर्जना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराईसँग पनि छुट्टै भेट गरी सम्मेलनको तयारी, नेपाल सरकार–एनआरएनए समन्वय, नेपाली डायस्पोराको ज्ञान र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने रणनीति तथा युरोप र एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारीबारे छलफल गरेको थियो।
यसैबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भएको भेटमा सम्मेलनलाई नेपालमा नवप्रवर्तन, अनुसन्धान, प्रविधि विकास तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणको अभियानसँग जोड्ने विषयमा विस्तृत छलफल भएको थियो। मन्त्री पुनले विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान र अनुभवलाई नेपालसँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै एनआरएनएले ज्ञान हस्तान्तरण, अनुसन्धान सहकार्य तथा नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सरकारले ब्रेन गेन सेन्टर पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उक्त अभियानलाई सफल बनाउन विश्वभर फैलिएका नेपाली विज्ञहरूको बौद्धिक तथा व्यावसायिक क्षमताको योगदान अपरिहार्य हुने बताउनुभयो। नेपालको दिगो विकास, सुशासन र आर्थिक रूपान्तरणका लागि विश्व नेपाली समुदायको ज्ञान र अनुभवलाई प्रभावकारी रूपमा परिचालन गर्न सरकार दृढ रहेको उहाँको भनाइ थियो।
एनआरएनएका अनुसार चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ ले विश्वभरका नेपालीहरूको ज्ञान, अनुसन्धान, नवप्रवर्तन, प्रविधि, सीप र अनुभवलाई नेपालको विकास यात्रासँग जोड्दै सरकार, शैक्षिक तथा अनुसन्धान संस्था, निजी क्षेत्र र विश्वव्यापी नेपाली विज्ञहरूबीच दीर्घकालीन साझेदारी निर्माण गर्ने लक्ष्य राखेको छ।
उल्लेखनीय छ, एनआरएनएले पहिलो विश्व नेपाली ज्ञान सम्मेलन सन् २०१८, दोस्रो सम्मेलन सन् २०२० र तेस्रो सम्मेलन सन् २०२३ मा सफलतापूर्वक आयोजना गरिसकेको छ। अघिल्ला सम्मेलनबाट प्राप्त अनुभव र उपलब्धिलाई आधार बनाउँदै चौथो सम्मेलनलाई अझ परिणाममुखी, प्रभावकारी र नेपालको समृद्धिसँग प्रत्यक्ष जोडिने गरी आयोजना गर्ने तयारी गरिएको संघले जनाएको छ।