शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपाल–यूएई आर्थिक साझेदारी विस्तारमा जोड, नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई आह्वान

शुक्रबार, असार २६ २०८३

अबुधाबी — संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा ‘नेपाल–यूएई आर्थिक साझेदारी तथा व्यापार–लगानी प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ। यूएईस्थित नेपाली राजदूतावासको आयोजनामा भएको उक्त उच्चस्तरीय कार्यक्रममा नेपाललाई सुरक्षित, स्थिर र सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्दै यूएईका व्यवसायी तथा लगानीकर्तालाई नेपालमा दीर्घकालीन लगानीका लागि आह्वान गरिएको हो।

कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको विशेष सन्देश दूतावासकी तृतीय सचिव सोनिया डोटेलले वाचन गर्नुभएको थियो। सन्देशमार्फत मन्त्री खनालले नेपालले वैदेशिक लगानी आकर्षित गर्न कानुनी, नीतिगत र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै निजी क्षेत्रमैत्री वातावरण निर्माण तथा अन्तर्राष्ट्रिय आर्थिक साझेदारी विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो।

अबुधाबीमा आयोजित कार्यक्रममा यूएई सरकारका उच्च अधिकारी, प्रतिष्ठित व्यवसायी, लगानीकर्ता, कूटनीतिज्ञ तथा नेपाली उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा यूएईको वैदेशिक व्यापार मन्त्रालयका अन्डर सिक्रेटरी महामहिम फहाद अल गर्गावी सहभागी हुनुहुन्थ्यो। त्यसैगरी यूएईको अर्थतन्त्र तथा पर्यटन मन्त्रालयका सल्लाहकार महामहिम जुमा मोहम्मद अल काइत र अबुधाबी चेम्बर अफ कमर्सका कोषाध्यक्ष महामहिम मसूद रहमा अल मसूदको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानीका अवसर र नेपाल–यूएईबीच व्यापारिक सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। नेपाली राजदूतावासकी उपप्रमुख रञ्जिता दाहालले ‘नेपालको आर्थिक परिदृश्य र द्विपक्षीय अवसर’ विषयमा प्रस्तुति दिँदै नेपालको सुधारोन्मुख लगानी वातावरण, सम्भावित क्षेत्र र लगानीका अवसरबारे जानकारी गराउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का मनोज पौडेलले नेपालका जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्र यूएईका लगानीकर्ताका लागि आकर्षक अवसरका क्षेत्र भएको बताउनुभयो। उहाँले नेपाल–यूएई सम्बन्धलाई श्रम र रेमिट्यान्समा मात्र सीमित नराखी व्यापार, लगानी र निजी क्षेत्रको साझेदारीमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा डेलोइट मिडल इस्टका बिजनेस ट्याक्स पार्टनर अबी मान जोशीले यूएईको लगानी तथा कर प्रणालीसम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो भने फिनटेक एलायन्स नेपालका साजन शर्माले नेपालको सूचना प्रविधि क्षेत्रका सम्भावना, डिजिटल अर्थतन्त्र र नीतिगत सुधारका विषयमा प्रकाश पार्नुभयो।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाल राजनीतिक रूपमा स्थिर, लगानीका लागि खुला र व्यवसाय सञ्चालनका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै यूएईका लगानीकर्तालाई नेपाललाई केवल बजारका रूपमा नभई दीर्घकालीन व्यावसायिक साझेदारका रूपमा हेर्न आग्रह गर्नुभयो। उहाँले विदेशी लगानीकर्ताको सुरक्षा, आवश्यक सहजीकरण र आयोजना कार्यान्वयनमा नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आर्थिक संवादसँगै कार्यक्रममा नेपाली संस्कृति समेत प्रवर्द्धन गरिएको थियो। कलाकारद्वय जितबहादुर गुरुङ र कञ्चन पुडासैनीले नेपाली सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूलाई राजदूत क्षेत्रीले मायाको चिनो प्रदान गर्नुभएको थियो।

उक्त अवसरमा नेपाल र यूएईका निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने, नयाँ लगानीका अवसर सिर्जना गर्ने र दुवै देशको दिगो आर्थिक विकासका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। नेपाल–यूएई सम्बन्ध पछिल्लो समय श्रम क्षेत्रमा मात्र नभई व्यापार, लगानी, पर्यटन, ऊर्जा र प्रविधिको क्षेत्रमा समेत विस्तार हुँदै गएको सन्देश अबुधाबीको उक्त आर्थिक कार्यक्रमले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार