शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पाल्पाली सेवासमाज कतारद्वारा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

शनिबार, जेष्ठ ३० २०८३

दोहा,पाल्पाली सेवासमाज दोहा कतारले व्यक्तित्व विकास तथा उद्घोषणसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। समाजका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिम शुक्रबार, १२ जुन २०२६ मा एनखालिदस्थित नमस्ते एसियन नेपाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो।

समाजका अध्यक्ष विकास गैरे (विक्की) को अध्यक्षता तथा समाजका प्रमुख संरक्षक महल केसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सफल व्यवसायी तथा सामाजिक व्यक्तित्व सुरज कुँवरलाई अतिथि प्रशिक्षकका रूपमा आमन्त्रण गरिएको थियो। कुँवरले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए भने अध्यक्ष गैरेले उद्घोषण कला सम्बन्धी प्रशिक्षणसँगै सहभागीहरूलाई प्रत्यक्ष अभ्याससमेत गराएका थिए।

तालिममा व्यक्तित्व विकास, प्रभावकारी बोल्ने कला, सार्वजनिक प्रस्तुति, नेतृत्व क्षमता अभिवृद्धि तथा उद्घोषणका विविध पक्षबारे प्रशिक्षण दिइएको थियो। तालिमबाट सहभागीहरूले नयाँ ज्ञान, अनुभव र सीप हासिल गरेको प्रतिक्रिया दिएका थिए। आफूले सार्वजनिक रूपमा बोल्न सक्दिनँ भन्ने सोच राखेका सहभागीहरूले तालिमपछि आत्मविश्वास बढेको र अब विभिन्न कार्यक्रम तथा सभामा आफ्ना विचार प्रस्तुत गर्न सकिने महसुस भएको बताएका थिए।
कार्यक्रमको समापनतर्फ मूल्याङ्कन सत्रसमेत सञ्चालन गरिएको थियो। सो अवसरमा समाजका सम्मानित संरक्षक लीलम चिदिमगरले पाल्पाली सेवासमाज दोहा–कतारले विगतदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आए पनि यो कार्यक्रम समाजका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकासका लागि निकै प्रभावकारी र उदाहरणीय रहेको बताए। उनले यस्ता कार्यक्रमहरूले आगामी दिनमा सक्षम नेतृत्व उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै समाजको नेतृत्वको खुलेर प्रशंसा गरेका थिए।
त्यसैगरी, समाजका प्रमुख सल्लाहकार विश्वनाथ भट्टराईले आफ्ना जीवनका अनुभव सुनाउँदै आत्मविश्वास नै सफलताको प्रमुख आधार भएको उल्लेख गरे। आत्मविश्वासले मानिसलाई सही र सकारात्मक मार्गतर्फ डोर्‍याउने तथा व्यक्तिलाई सबल बनाउने भएकाले नेतृत्व विकासमा यस्ता तालिमको महत्वपूर्ण योगदान रहने उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महल केसीले यस्ता तालिमहरूले व्यक्तिलाई जहाँसुकै पनि आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्न सक्षम बनाउने बताए। उनले व्यक्तित्व विकास र नेतृत्व क्षमताको विस्तारमा यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखे।

समापन समारोहमा अध्यक्ष विकास गैरेले आफू अध्यक्ष निर्वाचित भएदेखि प्रत्येक तीन महिनामा यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै यो दोस्रो अभ्यास रहेको जानकारी दिए। आफ्नो कार्यकालमा कम्तीमा तीन जना सक्षम तथा प्रखर वक्ता तयार गर्न सके आफू सफल भएको महसुस गर्ने उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष गैरेले कार्यक्रम समापन गरेका थिए।
समाजकी महिला उपाध्यक्ष धना कुमारी श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव हिरालाल बस्यालले सञ्चालन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार