शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बैरो संघको आगामी नेतृत्वको लागि निर्वाचन शुरु, उत्साहजनक सहभागिताबीच तीन पक्षबीच कडा प्रतिस्पर्धा

बेलुका ६ बजेसम्म लाइनमा बसेकाले मतदान गर्न पाउने, ७७४ मतदाताले चयन गर्दैछन् नयाँ नेतृत्व

आइतबार, जेष्ठ २४ २०८३

काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आयोजित विशेष साधारणसभा तथा निर्वाचन अन्तर्गत मतदान प्रक्रिया शनिबार दिउँसोदेखि सुरु भएको छ। मतपत्र छपाइ तथा उपलब्ध गराउने कार्यमा भएको ढिलाइका कारण निर्धारित समयभन्दा केही पछि मतदान सुरु भए पनि व्यवसायीहरूको उत्साहजनक सहभागिताले निर्वाचनस्थल दिनभरि नै व्यस्त बनेको छ।
देशभरबाट आएका वैदेशिक रोजगार व्यवसायीहरूको उल्लेख्य उपस्थितिका बीच सुरु भएको मतदानलाई यस क्षेत्रको भविष्य निर्धारण गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ। मतदानस्थलमा बिहानैदेखि व्यवसायीहरूको भीड लागेपछि निर्वाचनप्रति उनीहरूको चासो र उत्साह स्पष्ट देखिएको थियो।
निर्वाचन समितिले जारी गरेको विशेष सूचनाअनुसार मतदान कार्यक्रम दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। मतदान प्रक्रियालाई व्यवस्थित बनाउन बेलुका ६ बजेसम्म मतदान केन्द्रको लाइनमा बसिसक्नुपर्ने व्यवस्था गरिएको छ। समितिले सो समयभित्र लाइनमा बसेका मतदातालाई मतदानको अवसर दिइने तथा त्यसपछि आउनेलाई मतदानमा सहभागी गराउन नसकिने जनाएको छ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टंकबहादुर राउत, निर्वाचन अधिकृत भवानीप्रसाद निरौला तथा सदस्य सचिव देवराज कटुवालले संयुक्त रूपमा जारी गरेको सूचनामा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।

तीनै पक्षले विगत केही सातादेखि व्यवसायीका समस्या समाधान, श्रम गन्तव्य विस्तार, वैदेशिक रोजगार क्षेत्रको नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा संघको गरिमा र प्रभावकारिता बढाउने एजेन्डासहित मत माग्दै आएका छन्। उम्मेदवारहरूले आफ्ना प्रतिबद्धतामार्फत व्यवसायीको हकहित र पेशागत सुरक्षालाई प्राथमिकतामा राख्ने बताएका छन्।
७७४ मतदाता रहेको यस निर्वाचनलाई संघको इतिहासकै महत्वपूर्ण र प्रतिस्पर्धात्मक निर्वाचनका रूपमा हेरिएको छ। वैदेशिक रोजगार क्षेत्र अहिले विभिन्न नीतिगत चुनौती, गन्तव्य मुलुकसँगको समन्वय, श्रम बजारको बदलिँदो अवस्था तथा व्यवसाय सञ्चालनसम्बन्धी जटिलतासँग जुधिरहेका बेला नयाँ नेतृत्वप्रति व्यवसायीहरूको अपेक्षा उच्च देखिएको छ।
मतदानस्थलमा देखिएको उत्साहजनक सहभागिताले व्यवसायीहरू आफ्नो संगठनको नेतृत्व चयनप्रति गम्भीर रहेको सन्देश दिएको छ। निर्वाचन परिणामले आगामी कार्यकालमा संघको नेतृत्व कसले सम्हाल्ने मात्र होइन, वैदेशिक रोजगार व्यवसायको नीति, दिशा र भविष्यसमेत निर्धारण गर्ने विश्वास गरिएको छ।
मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा जारी रहेको निर्वाचन समितिले जनाएको छ। मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया सुरु गरिनेछ भने त्यसपछि संघको नयाँ नेतृत्वको टुंगो लाग्नेछ। अहिले सम्पूर्ण व्यवसायी समुदायको ध्यान मतदान र त्यसपछिको परिणामतर्फ केन्द्रित भएको छ।




प्रतिक्रिया
सम्बन्धित समाचार