शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आफ्नो कार्यकालका उपलब्धि सार्वजनिक गर्दै भुवन गुरुङद्वारा आफूविरुद्ध भएको षड्यन्त्रको पर्दाफास

पितृशोकमा रहेका बेला बहुमतप्राप्त कार्यसमितिविरुद्ध चलखेल भएको दाबी, व्यवसायीहरूद्वारा पनि गुरुङमाथि अन्याय गरिएको स्विकार

शुक्रबार, जेष्ठ २२ २०८३

काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवन सिंह गुरुङले आफ्नो कार्यकालमा हासिल भएका उपलब्धिहरू सार्वजनिक गर्दै आफू पितृशोकमा रहेका बेला संघभित्र योजनाबद्ध रूपमा षड्यन्त्र र चलखेल गरिएको आरोप लगाएका छन्।
काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायीहरूको हक–हित संरक्षण तथा विभिन्न नीतिगत उपलब्धिबारे जानकारी दिँदै संघभित्र पछिल्लो समय विकसित घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

गुरुङले आफ्नो नेतृत्वकालमा लामो समयदेखि नवीकरण हुन नसकेको संघलाई कानुनी प्रक्रिया पूरा गरी नवीकरण गरिएको तथा त्यस क्रममा लागेको करिब ८ लाख रुपैयाँ जरिवाना तत्कालीन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहयोगबाट व्यवस्थापन गरिएको बताए।

उनका अनुसार श्रमिक तथा व्यवसायीहरूको हितविपरीत रहेको भनिएको जिटको (JITCO) प्रणाली खारेज गराउन, जापानको स्पेसिफाइड स्किल्ड वर्कर (SSW) कार्यक्रमअन्तर्गत सीमित समूहको स्वार्थमा विकसित सिन्डिकेट अन्त्य गर्न तथा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ।

त्यस्तै वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा तयार गरी सम्बन्धित निकायमा पेश गरिएको, मलेसिया जाने कामदारहरूको स्वास्थ्य परीक्षणमा ई–मोडेलमार्फत सिन्डिकेट लागू गर्ने प्रयासलाई रोकिएको तथा वार्षिक १०० जना कामदार अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था हटाउन पहल गरिएको उनले जानकारी दिए।

गुरुङले मेडिकल परीक्षण शुल्क वृद्धि फिर्ता गराई साविककै ६ हजार ५०० रुपैयाँ कायम गराउन सफल भएको, वैदेशिक रोजगार ऐनको दफा ७१ अन्तर्गतको जरिवाना व्यवस्थामा सुधारका लागि निरन्तर पहल गरिएको तथा व्यवसायीका विभिन्न समस्या समाधानका लागि सरकारसँग प्रभावकारी समन्वय गरिएको बताए।

जापानमा नेपाली श्रमिकको रोजगारी अवसर विस्तार गर्ने उद्देश्यले Japan Agency Association सँग नेपालमा तेस्रो जापान जब फेयर आयोजना गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता सम्पन्न गरिएको जानकारी दिँदै उनले यसबाट नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा गुरुङले आफू बुबाको निधनपछि १३ दिने पितृकार्यमा रहेका बेला संघभित्र केही व्यक्तिहरूले योजनाबद्ध रूपमा गतिविधि सञ्चालन गरी आफू र आफ्नो कार्यसमितिविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए। संघको कार्यसमितिमा स्पष्ट बहुमत हुँदाहुँदै केवल चार जना सदस्यको राजीनामालाई आधार बनाएर कार्यसमितिलाई निष्क्रिय बनाउने प्रयास गरिएको उनको दाबी थियो।

उनले आफू अनुपस्थित रहेको अवस्थाको फाइदा उठाउँदै केही समूहले प्रशासनिक तहसम्म प्रभाव पारेर संघको लोकतान्त्रिक प्रक्रिया, संस्थागत मर्यादा र व्यवसायीहरूको मताधिकारमाथि प्रहार गरेको आरोप लगाए। “मैले नेतृत्व गरेको कार्यसमितिसँग स्पष्ट बहुमत थियो। तर म पितृकार्यमा रहेका बेला केही व्यक्तिहरूले योजनाबद्ध रूपमा खेल खेले। यसका पछाडिको वास्तविकता व्यवसायीहरूले छिट्टै बुझ्नेछन्,” गुरुङले भने।

पत्रकार सम्मेलनमा सहभागी केही व्यवसायीहरूले पनि गुरुङमाथि अन्याय भएको धारणा व्यक्त गरेका थिए। उनीहरूले पितृशोकमा रहेका बेला बहुमतप्राप्त नेतृत्वमाथि गरिएको व्यवहारले संघभित्रको लोकतान्त्रिक अभ्यास र संस्थागत प्रक्रियामाथि प्रश्न उठाएको बताएका थिए। व्यवसायीहरूले संघको विवाद विधि, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार समाधान हुनुपर्नेमा जोड दिएका छन्।

आसन्न जेठ २४ गते हुने संघको निर्वाचनलाई संकेत गर्दै गुरुङले व्यवसायीहरूको मताधिकार, संस्थागत न्याय, पारदर्शिता र लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउने कुनै पनि गतिविधिविरुद्ध व्यवसायी समुदाय सचेत रहनुपर्ने बताए।

उनले आफ्नो कार्यकालमा सुरु गरिएका सुधारका अभियान, व्यवसायीहरूको हक–हितका मुद्दा तथा वैदेशिक रोजगार क्षेत्रको संस्थागत सुदृढीकरणका प्रयासलाई आगामी नेतृत्वले पनि निरन्तरता दिनुपर्नेमा जोड दिए। साथै श्रमिक, व्यवसायी र सरकारबीचको सहकार्यबाट मात्र वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरे।
पत्रकार सम्मेलनमा वैदेशिक रोजगार व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार