काठमाडौँ,भारतीय जनता पार्टी (भाजपा) का नेता एवं पूर्वराष्ट्रिय उपाध्यक्ष श्याम जाजूले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक र कूटनीतिक मात्र नभएर आध्यात्मिक, धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त प्रगाढ रहेको बताउनुभएको छ । धार्मिक भ्रमणमा काठमाडौँ आएका नेता जाजूले दुई देशको सम्बन्धलाई ब्लड ग्रुप (रगतको समूह) मिल्ने सम्बन्धका रूपमा चित्रण गर्नुभएको हो ।
उहाँले पशुपतिनाथको दर्शन र भ्रमणका लागि पाँचौँ पटक नेपाल आएको बताउँदै दुई देशको मित्रता अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल आउँदा मलाई अर्को देशमा आएको जस्तो कहिल्यै लाग्दैन । यहाँको रीतिथिति, संस्कृति र नेपालीको संत्कार र व्यवहारले मलाई सधैँ आकर्षित गर्छ ।”
नेता जाजूले पशुपतिनाथ, केदारनाथ, बद्रीनाथ र अयोध्यालाई एउटै धार्मिक सूत्रमा जोडेर धार्मिक पर्यटन प्रवर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भगवान् श्रीरामको ससुराली जनकपुरधाम र भारतको अयोध्याबीचको सम्बन्धले पनि दुई देशको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभयो । उहाँले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार गठन गरेपछि आफ्नो पहिलो वैदेशिक भ्रमणका लागि नेपाललाई रोज्नुले नै भारतको दृष्टिमा नेपालको महत्त्व प्रष्ट हुने बताउनुभयो ।
उहाँले भारत अहिले विश्वको ११औँ अर्थतन्त्रबाट चौथो स्थानमा पुगेको र छिट्टै तेस्रो ठूलो शक्ति बन्ने दिशामा अग्रसर रहेकाले नेपालले आर्थिक विकासमा लाभ लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी देशको प्रगतिले अर्को छिमेकीलाई पनि फाइदा पुग्छ । भारतको आर्थिक विकासको लाभ नेपालले पनि लिनुपर्छ ।”
नेता जाजूले नेपालको समग्र विकास, स्थिरता र समृद्धिको कामना गर्दै दुई देशबीचको प्राचीन र ऐतिहासिक सम्बन्धलाई आधुनिक प्रविधिको युगमा अझै सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भारतमा शिक्षा, स्वास्थ्य (आयुष्मान भारत), कृषि (किसान सम्मान निधि) र पूर्वाधारका क्षेत्रमा भइरहेको क्रान्तिकारी परिवर्तनको चर्चा गर्दै नेपाल र भारतबीचको सडक, रेल र हवाई कनेक्टिभिटी बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दक्षिण एसियाका केही छिमेकी मुलुकमा भइरहेको राजनीतिक अस्थिरताप्रति संकेत गर्दै नेपालमा नयाँ सरकार गठन भएको र यसले विकासका कामलाई तीव्रता दिने तथा राजनीतिक स्थायित्व हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै पनि देशमा परिवर्तनको संवाहक युवा हुन् । राष्ट्र पहिलो भन्ने भावनाका साथ युवा अगाडि बढ्नुपर्छ ।”
तन्त्रविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. मिलनकुमार थापाले नेता जाजू नेतृत्वको प्रतिनिधि मण्डललाई स्वागत गर्दै नेपाल र भारतको जनस्तरको सम्बन्ध एवं धार्मिक, सामाजिक एवं सांस्कृतिक सम्बन्धलाई पर्यटन प्रवर्धनमार्फत आर्थिक विकासको आधारशिला निर्माणमा लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक विकासमा धार्मिक पर्यटन महत्त्वपूर्ण हिस्सा बनिरहेको छ । नेपाल र भारतबिचको सहकार्यलाई अझै विस्तार गरी समुन्नत राष्ट्र निर्माणका पक्षमा काम गर्नुपर्छ ।”