शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विदेश जाने नेपाली विद्यार्थीका लागि एनआरएनएको ठोस पहल : प्रस्थानपूर्व काउन्सिलिङदेखि रोजगारीसम्म ‘फुल सपोर्ट सिस्टम’ घोषणा

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौ, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई व्यवस्थित र प्रभावकारी सहयोग उपलब्ध गराउन एनआरएनएले बहुआयामिक ‘सपोर्ट सिस्टम’ लागू गर्ने तयारी गरेको बताएका छन ।
गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास लन्डन सँगको सहकार्यमा आयोजना गरेको “द प्लग” कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरूका समस्या समाधानका लागि प्रस्थानपूर्व तयारीदेखि अध्ययनपश्चात् रोजगारीसम्म जोडिने संरचना निर्माण भइरहेको जानकारी दिए।
उनले नेपालमै काउन्सिलिङ प्रणाली सुरु गर्ने, सम्बन्धित मुलुकमा पुगेपछि दूतावास र सामुदायिक संस्थामार्फत सहयोग उपलब्ध गराउने र अध्ययन पूरा भएपछि रोजगारी बजारमा प्रवेश गर्न सहजीकरण गर्ने योजना अघि सारिएको बताए।
अध्यक्ष शर्माका अनुसार, यसका लागि नेपाल सरकारसँग पनि उच्चस्तरीय छलफल भइरहेको छ। शैक्षिक परामर्शदातृ संस्था नेपाल (इकान) सँग सहकार्य गर्दै विद्यार्थीलाई सही सूचना दिने र ठगीबाट जोगाउने पहलसमेत गरिनेछ।
एनआरएनएले पहिलो पटक ‘विद्यार्थी कल्याण समिति’ गठन गरी करियर फेयर, कानुनी परामर्श, मनोसामाजिक सहयोग लगायत कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। साथै १८३ दिनभन्दा बढी विदेशमा बस्ने विद्यार्थीलाई एनआरएनएको सदस्यता दिनुपर्ने प्रस्ताव पनि अघि सारिएको छ।
कार्यक्रममा प्रा. पदम सिम्खडाले बेलायतमा अन्तराष्ट्रिय विद्यार्थीहरूको ठूलो आर्थिक योगदान रहेको उल्लेख गर्दै नेपाल अहिले बेलायतमा विद्यार्थी पठाउने पाँचौँ ठूलो मुलुक बनेको जानकारी दिए।
उनले नेपाली विद्यार्थीहरूले आर्थिक दबाब, शैक्षिक अनुकूल र नेटवर्किङ अभावजस्ता चुनौती भोगिरहेको उल्लेख गर्दै “डिग्री मात्रले रोजगारी सुनिश्चित हुँदैन, रणनीतिक तयारी आवश्यक छ,” भने।
नेपाल सरकारका तर्फबाट शिवकुमार सापकोटाले विद्यार्थी ठगीविरुद्ध कडाइ गरिने चेतावनी दिँदै अध्ययनपछि स्वदेश फर्केर योगदान गर्न आग्रह गरे।
विद्यार्थी प्रतिनिधिहरूले आवास, रोजगारी, उच्च शुल्क र सांस्कृतिक अनुकूलनलाई प्रमुख समस्या औंल्याएका थिए।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सीमित स्रोतका बाबजुद समस्यामा परेका विद्यार्थीलाई निरन्तर सहयोग गरिरहेको बताए भने बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले दूतावास विद्यार्थीको सुरक्षा र हितमा सक्रिय रहेको स्पष्ट पारे।
कार्यक्रममा सहभागी विज्ञहरूले सरकार, विश्वविद्यालय, समुदाय र विद्यार्थीबीच समन्वय बलियो नगरेसम्म समस्या समाधान नहुने निष्कर्ष निकालेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार