शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बैरो संघको विवाद उग्र बन्दै, अध्यक्ष गुरुङ कानुनी प्रक्रियामा प्रवेश, तालाबन्दीविरुद्ध प्रहरीमा उजुरी,मेनपावर ब्याबसायी चिन्तित

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको पछिल्लो विवादलाई लिएर अध्यक्ष भुवन सिंह गुरुङले संयमित भएर ब्याबसायिक हक हितमा कार्य गर्ने बताएका छन । कार्यसमितिका प्रथम उपाध्यक्ष,महासचिव लगाएत केही पदाधिकारी तथा सदस्यहरूको सामूहिक राजीनामापछि उत्पन्न परिस्थितिलाई केही समूहले अवसरका रूपमा प्रयोग गर्दै संस्थालाई अस्थिर बनाउने प्रयास गरेको आरोप लाग्दै आएको छ। केही राजनितिक दल र समुहले उक्त राजिनामालाई खेल्ने मौकाका रुपमा लिएका छन ।
राजीनामापछि असन्तुष्ट पक्षले संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेसँगै अध्यक्ष गुरुङले तत्काल कानुनी बाटो रोज्दै प्रहरी वृत्त गौशालामा निवेदन दर्ता गराएका छन्। उनले संघको नियमित कामकाज अवरुद्ध पार्ने गरी गरिएको तालाबन्दी गैरकानुनी भएको स्पष्ट गर्दै तत्काल ताला खोल्न र कार्यालय सञ्चालन सुचारु गर्न प्रशासनसँग आग्रह गरेका छन्।
अध्यक्ष गुरुङले तालाबन्दीमा संलग्न व्यक्तिहरूको तस्वीर तथा भिडियो प्रमाण आफूसँग सुरक्षित रहेको उल्लेख गर्दै केही समुहको उक्साहटमा योजनाबद्ध रूपमा संस्थालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरेका छन्। उनका अनुसार, संघलाई विवादमा तान्ने र नेतृत्वमाथि अनावश्यक दबाब सिर्जना गर्ने उद्देश्यले यस्तो गतिविधि गरिएको हो।
उनले १५ गते बिहान १० बजे नै प्रहरी परिचालन गरी कार्यालयको ताला खोल्न र गलत गर्नेलाइ कारवाहीको माग गरेका छन्, ताकि व्यवसायीहरूको साझा संस्थाको कामकाज तत्काल सामान्य अवस्थामा फर्काउन सकियोस्।
तालाबन्दीमा संलग्न रहेकाहरुमा दीपक ढुगाना, मिलन कट्टेल, विनोद जंग केसी, किशोर कुमार केसी, मानव बिष्ट, राजेन्द्र अधिकारीलगायत रहेका छन्। जुन भिडियोमा प्रस्ट देखिन्छ ।
यस घटनाप्रति केही संघका पूर्व अध्यक्षहरू तथा मेनपावर क्षेत्रका अग्रज व्यवसायीहरूले समेत अध्यक्ष गुरुङको कदमको समर्थन जनाएका छन । उनीहरूले संस्थाको हितभन्दा बाहिर गई सीमित स्वार्थका लागि यस्तो गतिविधि गर्नु गैरजिम्मेवार र व्यवसायीविरोधी भएको बताएका छन ।
देशभर रहेका एक हजारभन्दा बढी मेनपावर व्यवसायीहरूको छाता संगठनमै तालाबन्दी जस्तो गतिविधि भएपछि व्यवसायीहरूमा असन्तुष्टि बढ्दो छ। धेरै व्यवसायीहरूले अध्यक्ष गुरुङलाई काम गर्न दिनुपर्ने र संस्थालाई स्थिरता दिनुपर्ने धारणा व्यक्त गर्दै अहिले पदको लोभ र युद्दमा लाग्नु सरसर गलत भएको बताएका छन्।
उनिहरुले आज मङ्गलवार अध्यक्ष गुरुङले कार्यसमिती बैठक बोलाएको र सबै विवादका समाधान उक्त बैठकले गर्ने जनाई राख्दा पनि केही घन्टा नकुरी कुनै समुहको चङ्गुलमा फसेर अहिलेको गतिविधि गरिनु दुखद भएको बताए । उनिहरुले अहिलेको विवादमा मलेसियाको रोजगार र मेडिकल सिन्डिकेटको बिसय पनि जोडिएको बताए ।
उता, संघभित्रको विवादले सरकारी निकायहरूको ध्यानसमेत तानेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र प्रहरीले यस घटनाक्रमलाई गम्भीर रूपमा लिँदै आवश्यक परे थप निगरानी तथा कडाइ गर्ने तयारी गरिरहेको बुझिएको छ।
समग्रमा, वर्तमान विवादबीच अध्यक्ष गुरुङले कानुनी प्रक्रियाबाट समाधान खोज्ने रणनीति अपनाउँदै संस्थालाई जोगाउने प्रयास गरिरहेका छन्, जसलाई व्यवसायीवृत्तमा सकारात्मक रूपमा हेरिएको छ। तर गुरुङ विरोधी समूह भने एग्रेसिभ रुपमा देखिएपछि अध्यक्ष गुरुङ समुह कसरी अगाडि बढ्छ त्यस्मै संघको आगामी कार्यदिशा तय हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार