काठमाडौं ,गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध उठेका शेयर लगानीसम्बन्धी प्रश्न र जनचासोलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्।
चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका गुरुङले पछिल्लो समय विवादित व्यापारीसँगको शेयर लगानीबारे उठेका प्रश्नलाई गम्भीर रूपमा लिँदै नैतिकताको आधारमा निर्णय गरेको स्पष्ट पारे। उनले पदमा रहँदा निष्पक्ष छानबिनमा असर नपरोस् र ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।
“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” भन्दै उनले सार्वजनिक जीवन पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले देशमा बढ्दो सुशासनको माग र युवापुस्ताको सक्रियताले नेतृत्वलाई थप जिम्मेवार बन्न दबाब सिर्जना गरेको उल्लेख गरे।
गुरुङले यति धेरै सहिदको बलिदानीबाट बनेको वर्तमान व्यवस्थामाथि प्रश्न उठ्दा त्यसको जवाफ नैतिक आचरणमार्फत दिनुपर्ने धारणा राख्दै आफूले त्यसै अनुरूप कदम चालेको बताए।
राजीनामासँगै उनले सञ्चार क्षेत्रतर्फ पनि संकेत गर्दै केही मिडियाकर्मीहरूको ‘स्वीट शेयर’ सम्बन्धी विषय क्रमशः सार्वजनिक हुने दाबी गरे। “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,” उनको भनाइ छ।
उनले आम नागरिक, सञ्चारकर्मी र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गर्दै वास्तविक परिवर्तनका लागि सबै क्षेत्र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
गुरुङको राजीनामासँगै सरकारभित्र सुशासन, पारदर्शिता र नैतिक उत्तरदायित्वको बहस थप चर्किने देखिएको छ।